भदौ १९ गतेभित्र महाधिवेशन सम्भव छैन : डा. शेखर कोइराला

Shekhar

साउन १६, काठमाण्डौ,

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले अहिलेको अवस्थामा भदौ १९ गतेभित्र पार्टिको महाधिवेशन सम्भव नभएको बताउनुभएको छ । उहाँले सभापति शेरबहादुर देउवाले भदौको १६ गते महाधिवेशनको उद्घाटन गर्छु भनेर कार्यकर्तालाई भ्रममा राखेको आरोप लगाउनुभयो ।

नेपाली कांग्रेसको १४औं महाधिवेशनको सुनिश्चितता र भावी नेतृत्व विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै नेता कोइरालाले भदौको १६ गतेदेखि वडा तहको अधिवेशन सुरु गरेर महाधिवेशन सुरु गर्न प्रस्ताव गर्नुभएको छ ।

अहिलेकै अवस्थामा क्रियाशील सदस्यताको विवाद धेरै जिल्लाहरुमा रहेको बताउँदै उहाँले भदौसम्म क्रियाशील सदस्यताका विवाद टुंगाएर १६ गतेदेखि वडा तहको महाधिवेशन सुरु गर्नुपर्ने बताउनुभयो । कोईरालाले पदाधिकारी र पूर्वपदाधिकारीहरुले नियमित छलफल गरिरहे पनि निचोड निकाल्न नसकेकोमा असन्तुष्टि प्रकट गर्नुभयो ।