गण्डकी प्रदेश खेलकूद परिषद्को उपाध्यक्षमा ध्वजकुमार गुरुङ नियुक्त

dhoj-kumar-gurung 1

साउन २८, कास्की,

गण्डकी प्रदेश खेलकूद परिषद्का उपाध्यक्षमा जिल्ला बाँस्केटबल सङ्घका अध्यक्षसमेत रहनुभएका ध्वजकुमार गुरुङ नियुक्त हुनुभएको छ ।

प्रदेश सरकार मन्त्रिपरिषद्को बैठकले उहाँलाई उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्तासमेत रहनुभएका भौतिक पूर्वाधार विकासमन्त्री कुमार खड्काले जानकारी दिनुभयो ।

स्याङजाको वालिङ नगरपालिका– १२ सिर्सेकोट कोखे घर भई उहाँ हाल पोखरा–१० मा बसोबास गर्दै आउनुभएको छ ।

यसअघि उपाध्यक्षमा नियुक्त नारायण पुन परिषद्को बैठकमा उपस्थित नभएका कारण गत साउन १३ गते ७ दिने सार्वजनिक सूचना जारी गरिएकामा सम्पर्कमा नआएको र स्पष्टीकरणको जवाफ नआएकाले उहाँलाई पदमुक्त गरी रिक्त पदमा गुरुङलाई नियुक्त गरिएको छ ।

नेपाल राष्ट्रिय ह्याण्डबल टोलीका सदस्यसमेत रहनुभएका गुरुङ पश्चिमाञ्चलको ह्याण्डबल टोलीको कप्तानीसमेत सम्हाल्नुभएको थियो ।