राष्ट्रिय फुटबल टोली पोखरामा : आज देखि बन्द प्रशिक्षण सुरु हुँदै

kheladi

साउन २७, कास्की,

नेपाली राष्ट्रिय पुरुष फुटबल टोली बन्द प्रशिक्षणका लागि पोखरा आएको छ ।

राष्ट्रिय टोलीका खेलाडी तथा अफिसियलसहितको टोली हिजो (मंगलबार) साँझ हवाईमार्गबाट पोखरा आएको हो ।

आज (बुधबार) देखि दुई साता पोखराको अन्तर्राष्ट्रिय फुटबल रङ्गशालामा बन्द प्रशिक्षण सञ्चालन हुनेछ ।

नेपाली टोली दक्षिण एशियाली फुटबलको सर्वोच्च प्रतियोगिता साफ च्याम्पियनसीपको तयारीमा छ । आगामी अक्टोबर १ देखि १३ तारिखसम्म माल्दिभ्समा सो प्रतियोगिता हुने तय भएको छ । टोलीलाई पोखरा विमानस्थलमा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष तोरणबहादुर बानियाँ, जिल्ला फुटबल सङ्घका अध्यक्ष मिलन गुरुङलगायतले स्वागत गर्नुभएको थियो । राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा ३७ खेलाडीको सहभागिता रहने छन् ।

football-tem

पोखरा आएको टोली


मंगलबार पोखरा आएको टोलीमा खेलाडी र म्यानेजमेन्ट टिमका सहित २७ जना रहेका छन । वाँकी खेलाडी भने बुधवार मात्रै आउने भएका छन । 

टोलीमा किरणकुमार लिम्बु, विशाल श्रेष्ठ, दीप कार्की, विकेश कुथु, अर्पण कार्की, विशाल सुनार, रजिन धिमाल, सुमन अर्याल, रन्दीप पौडेल, दिनेश राजवंशी, गौतम श्रेष्ठ, राजिव लोप्चन, अनन्त तामाङ, रोहित चन्द, सुरज ठकुरी, सुमन लामा, कमल थापा मगर, नितिन थापा, तेज तामाङ, पुजन उपरकोटी, विशाल राई, सन्तोष तामाङ, सन्जोक राई, विक्रम लामा, सुजल श्रेष्ठ, त्रिदेव गुरुङ, सुनिल बल, मनिष डाँगी, अन्जन विष्ट, आयुष घलान, नवयुग श्रेष्ठ, आशिष लामा, भरत खवास, अभिषेक रिजाल, सेसेहाङ् आङ्देम्बे, शिशिर लेखी रहेका छन ।

टोलीको प्रशिक्षणलाई लक्ष्य गरी कास्की जिल्ला फुटबल सङ्घले रङ्गशालामा आवश्यक सबै तयारी पूरा गरिएको छ । फुटबल रङ्गशालामा दुवो कटान, मैदान मार्किङलगायतका काम सम्पन्न गरिएको जिल्ला फुटबल सङ्घका अध्यक्ष गुरुङले जानकारी दिनुभयो । टोलीका प्रमुख प्रशिक्षक अब्दुल्लाह अलमुताइरीलगायतका अन्य प्रशिक्षकले प्रशिक्षण गराउनुहुनेछ ।

राजधानी बाहिर पर्यटकीय शहर पोखरामा सञ्चालन हुने प्रशिक्षणले खेलाडीलाई शारीरिक र मानसिकरुपमा तयार बन्न र उच्चस्तरको खेल प्रतिभा देखाउन सक्षम बनाउने विश्वास लिइएको छ । टोलीले पोखरामा अन्तर्राष्ट्रिय फुटबल रङ्गशालासहित नेपाली सेनाको विजयपुर ब्यारेक, सशस्त्र प्रहरीको खेल मैदान र सहारा एकेडेमीको मैदानमा अभ्यास गर्नेछ । रासस