कोरोनाका कारण झण्डै दुई वर्ष देखि पोखराको पर्यटन सुनसान

pokhara2

साउन १७, कास्की,

झन्डै दुई वर्षयता कोरोना कहरका कारण पर्यटकीय नगरी पोखरा थलिएको छ । बजारमा मानिसहरुको चहलपहल केहि बढेको देखिएपनि यहाँको मुख्य आम्दानिको स्रोत पर्यटन व्यवसाय भने ठप्प जस्तै रहेको छ । पहिलो लहरपछि विभिन्न नयाँ योजनाका साथ पुनः चलायमान भएको पर्यटन कोरोनाको दोस्रो लहर बढेपछि अहिले सम्म सुनसान रहेको छ ।

जिल्ला प्रशासन कास्कीले साउन ३ गतेदेखि लकडाउन खुकुलो बनाएर पोखराको होटल व्यवसायलाई बेड क्षमताको ५० प्रतिशतमा पाहुना राख्ने गरी अनुमति दिएको छ । तर ५० प्रतिशत त के १ प्रतिशत पनि पाहुना होटलले नपाएको व्यवसायि बताउछन् ।

प्रशासनले अनुमति दिँदासमेत लेकसाइडका व्यवसायीहरु होटल खोल्न तयार छैनन । खोप नपाएसम्म होटल नखोल्ने पक्षमा ८५ प्रतिशत व्यवसायी रहेको पश्चिमाञ्चल होटल संघ (हान)का अध्यक्ष विकल तुलाचन बताउँछन् ।

पर्यटनलाई फेरि चलायमान बनाउन यतिखेर पोखराका पर्यटन व्यवसायी प्रदेश हुँदै सङ्घीय सरकारसँग कोरोनाविरुद्धको खोपको सुनिश्चितताको माग गरेका छन् ।

पोखरा पर्यटन परिषद्को अगुवाइमा पछिल्ला दिनमा प्रदेशका मुख्यमन्त्रीदेखि सम्बद्ध मन्त्रीलाई भेटी पर्यटन क्षेत्रलाई चलायमान बनाउन तत्काल खोपको व्यवस्था गर्न माग गरिएको छ ।

परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराई आफूहरूलाई पहिलो चरणमा होटल तथा रेस्टुरेन्टसहितका मजदुर एवम् व्यवसायीलाई लक्षित गरी कोरोनाविरुद्धको पाँच हजार खोप तत्काल आवश्यक भएको बताउनुभएको छ । पर्यटन व्यवसायिलाई करिब २० हजार खोप चाहिने भएतापनि वर्तमानमा ५ हजार खोप उपलब्ध भएमा पर्यटन व्यवसाय सञ्चालन गर्न सकिने उहाँको भनाई छ ।

माछापुच्छ्रे हिमालको छायाँ देखिने फेवातालका साथै दृश्यावलोनका लागि सराङ्कोट, विश्वशान्ति स्तूपा, काहुँडाडा, पुम्दीकोट, हुडिकोट, ठूलाकोट, भरतपोखरीमा रहेको मल्लकालीन कोटभैरव जस्ता धेरै ठाउँ यहाँका पर्यटकीय आकर्षण हुन् । महेन्द्र गुफा, चमेरे गुफा, गुप्तेश्वर गुफासहित बीचभाग भएर बग्ने सेती नदी र पातले छाँगो पोखरा आउने पर्यटकले नछुटाउने गन्तव्य रहेका छन् ।

यी ठाउँका साथै रामसार सूचीमा सूचीकृत फेवातालसहित पोखराकै कमलपोखरी, लेखनाथ क्षेत्रका वेगनास, रूपा, खास्टे, दिपाङ, मैदी, न्युरेनी जस्ता तालले पोखरामा पर्यटकलाई लोभ्याउने गरेको छ । पोखरा हुँदै हिमालपारिको जिल्लामा रहेका पवित्र तीर्थस्थल मुक्तिनाथको दर्शनमा जाने दर्शनार्थी हुन् वा यही आसपासका तालबाराही, विन्ध्यवासिनी, भद्रकाली, गुप्तेश्वर महादेवलगायतका स्थलमा दर्शनका लागि पनि पर्यटक आउने गर्दछन् ।

कोरोना कहरका बाबजुद पनि चाँडै नै पर्यटन क्षेत्र चलायमान बन्ने विश्वासका साथ पोखरासहित समग्र गण्डकी प्रदेशको पर्यटकीय ‘ब्रान्डिङ’ गर्ने विषयलाई प्राथमिकतामा राखिएको नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयका प्रमुख काशीराज भण्डारीले बताउनुभएको छ । ब्रान्डिङकै क्रममा विगतमा प्याराडाइज पोखराका नामबाट परिचित पोखरालाई अब ‘पोखरा, पियोर एज प्याराडाइज’ भनी उल्लेख गरिएको भण्डारीले जानकारी दिनुभयो ।