एमालेको अवरोधबीच गण्डकी प्रदेशसभाको बजेट बहुमतले पारित

gandaki

असार ३०, कास्की,


प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदको विरोध र सदन बहिस्कारका बीच गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेट पारित गरेको छ ।
प्रदेशसभा बैठकमा बजेटमाथिको छलफल प्रारम्भ भएपछि प्रतिपक्षी सांसद्ले वेल घेराउ गरेका थिए । वेल घेराउ गरेका प्रतिपक्षी सांसद्लाई सभामुखले मार्सल लगाएका थिए ।
मर्यादापालक प्रहरी र प्रतिपक्ष सांसद घचेटाघचेट भएको थियो ।

आफूहरूको विरोधका बाबजुद पनि सदन अगाडि बढाउन लागेपछि एमालेले सदन बहिस्कार गरेको थियो ।
प्रतिपक्ष बाहिरिएपछि सभामुखले सत्तापक्षका सांसदलाई बजेटमाथिको छलफलमा बोल्न दिई रीत पु¥याउँदै बजेट पारितको प्रस्ताव राख्न मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई मौका दिनुभएको थियो ।
अर्थ मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका पोखरेलले विनियोजन विधेयक लगायत विधेयक पारित गर्न राखेको प्रस्ताव सत्ता पक्षका बहुमत सांसदले पारित गरेका हुन् ।
यसअघि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले बुधबार पनि गण्डकी प्रदेशसभा बैठक अवरुद्ध गरेको थियो ।
बहुवर्षीय योजनाहरू, स्रोत सुनिश्चित भएर अघि बढेका योजनालाई निरन्तरता नदिइएको भन्दै एमालेले संसद् अवरुद्ध गरेको हो । मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल नेतृत्वको सरकारले बजेट न्यायोचित ढङ्गले वितरण नगरेको एमालेले आरोप लगाएको छ ।
स्थानीय तहको केन्द्र जोड्ने सडक, एक घर एक धारा, उज्यालो गण्डकी प्रदेश जस्ता कार्यक्रम नसमेटिएको भन्दै एमालेले सदन अवरोध गरेको हो । बजेट छैन भन्ने तर, १ लाख देखि ३० लाख रुपैयाँ सम्मका ६ सय ३० योजना थप्ने काम गरेकाले संसद् अवरुद्ध गर्नुपरेको एमाले सांसद रामशरण बस्नेतले बताउनुभयो ।
म्याग्दी, लमजुङमा पनि योजनाका संख्या घटाइएको र न्यायोचित वितरणमा ध्यान दिनुपर्ने बस्नेतको भनाइ थियो । कालो कोठामा बसेर षडयन्त्रपूर्ण रूपमा ल्याइएको बजेटलाई स्वीकार गर्न नसक्ने प्रतिपक्षी दलको भनाइ छ । मुख्यमन्त्रीलाई गराएको ध्यानाकर्षणको जवाफ नपाएसम्म सदन चल्न नदिने भन्दै प्रतिपक्षी एमालेले पछिल्लो समय बसेको संसद् बैठक अवरुद्ध र बहिस्कार गर्दै आएपनि जलजफ्ती गरेरै बजेट पारित गरिएको हो ।