पत्रकार महासंघ कास्की शाखाले अभिभावकत्व ग्रहण गर्न नसकेको भन्दै प्रेस चौतारीद्वारा महासंघ कार्यालयमा तालाबन्दी

talabandi

साउन १६, कास्की,

नेपाल पत्रकार महासंघ कास्की शाखाले अभिभावकत्व ग्रहण गर्न नसकेको भन्दै प्रेस चौतारी कास्कीले महासंघको कार्यालयमा तालाबन्दी गरेको छ ।

कास्कीका क्रियाशिल पत्रकार रञ्जन अधिकारीलाई समाचार लेखेको विषयलाई लिएर धम्की आएको घटनामा पत्रकारहरुको मुख्य संगठनले नै पत्रकारको अभिभावकत्व लिन नसकेको भन्दै चौतारीले शनिबार तालाबन्दी गरेको हो ।

रञ्जन अधिकारीले लेखेको समाचारको विषयलाई लिएर नवलपरासी घर भई पोखरा ११ बस्दै आएका श्रीकृष्ण श्रेष्ठले अधिकारीलाई तीन दिनसम्म फोन मार्फत् तनाव दिने, फेसबुक म्यासेन्जर र एसएमएसमार्फत् धम्की दिने, मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको पावर चलाउँछु भन्दै धाक धम्की लगाउने कार्य भएकोमा प्रेस चौतारी कास्की शाखाको गम्भीर ध्यानाकर्षण भएको र यसमा पत्रकारहरुको संगठनले केही नबोलेको भन्दै तालाबन्दी गरिएको प्रेस चौतारीले जनाएको छ ।

साथै यस्तो निन्दनिय कार्यमा संलग्न व्यक्ति श्रीकृष्ण श्रेष्ठ र प्रयोग भएका सफल सुवेदीलाई कारबाहीको दायरामा नल्याउदासम्म तालाबन्दी नखोलिने प्रेस चौतारी कास्कीका अध्यक्ष अर्जुन गिरीले बताउनुभयो ।

यता पत्रकार महासंघ कास्कीकी अध्यक्ष बिमला भण्डारीले महासंघले पत्रकारको अभिभावकत्व ग्रहण गर्दै आएको र अहिले पनि गरिरहेको दावि गर्नुभएको छ ।

त्यस्तै दोषि जो कोहीलाई पनि कानुनको दायरामा ल्याएर कारबाही गर्नुुपर्ने अनलाइन पत्रकार संघ गण्डकी प्रदेशका अध्यक्ष कमल सुवेदीले माग गर्नुभएको छ ।

पत्रकार अधिकारीले गत साउन ६ गते ‘काहुँको कालिका माविमा व्यापारः सरकारी अनुदान लिने, निःशुल्क किताब फर्जी बिल भिडाउँदै बेच्ने’ शीर्षकमा समाचार लेख्नु भएको थियो ।

सो विद्यालयकी प्रधानाध्यापक निर्मला मानन्धरका श्रीमान् बताउने श्रीकृष्ण श्रेष्ठले लगातार फोन, म्यासेज, एसएमएस मार्फत धाकधम्की दिएको पत्रकार अधिकारीले बताउनुभएकोछ ।