कोरोना संक्रमणको लहरका बिच ओली सरकारद्धारा निर्वाचनको तयारी

art of the day

जेठ ११, कास्की,


यतिबेला नेपालमा कोरोना भाइरस संक्रमणको दोस्रो लहर फैलिरहेको छ । संक्रमणका कारण छोटो समयमा नै धेरैले ज्यान गुमाएका छन् भने हजारौं बिरामी भएका छन् ।
अस्पताल र स्वास्थ्य प्रणालीले धान्न नसक्ने अवस्थामा पुगेपछि धेरै संक्रमितले अक्सिजन र उपचार अभावमा ज्यान गुमाउनुपरेको छ । जनस्वास्थ्यविज्ञले गत वर्षको अनुभव र भइरसको फैलावटलाई हेरेर अब कात्तिक र मङ्सिर महिनामा तेस्रो लहर आउने चेतावनी दिइरहेका छन् ।
तर सरकारले भने त्यही समयमा सम्पन्न गर्ने गरी निर्वाचनको मिति घोषणा गरेको छ । जनस्वास्थ्यविज्ञहरुको सुझाव र चेतावनीलाई नजरअन्दाज गर्दै सरकारको ध्यान सत्ताको खेलमा नै सीमित भइरहेको देखिन्छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा कोरोना भाइरसको संक्रमण देखिएयता कहिले पनि यो विषयलाई गम्भीर रुपमा नलिएको स्वास्थ्य मन्त्रालयका कर्मचारीको आरोप छ । जनस्वास्थ्यविज्ञले पनि प्रधानमन्त्रीले कोरोना महामारीले निम्त्याइरहेको समस्यालाई गम्भीर रुपमा नलिएको भन्दै आलोचना गरिरहेका छन् ।
प्रधानमन्त्री ओलीले सार्वजनिक रुपमा व्यक्त गरेका धारणाले पनि यो कुरालाई पुष्टि गरिरहेको छ । झन् पछिल्लो समयमा प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपतिले संसद् विघटन गर्दै कात्तिक र मङ्सिरमा निर्वाचन घोषणा गरेपछि जनस्वास्थ्यविज्ञहरु थप चिन्तित बनेका छन् ।
पहिलो लहरमा विश्वका अन्य मुलुकको तुलनामा मानवीय क्षति कम भएको र संक्रमितमा गम्भीर खालका लक्षण कम देखिएकाले नागरिकहरुले यसलाई त्यति गम्भीररुपमा लिएका थिएनन् । अझ यसमा झन् प्रधानमन्त्री ओलीले अम्बाको पात र बेसार पानीको कुरा गरेपछि आमरुपमा थप लापरबाही बढ्दै गएको थियो ।
अघिल्लो वर्षको लकडाउनले संक्रमण कम फैलिए पनि दसैं तिहारमा खुलेको लकडाउनको असर कात्तिक र मङ्सिरमा देखियो । १० हजारभन्दा संक्रमित हुँदैन भन्ने सरकारको अघिल्लो पटकको प्रक्षेपण गलत सावित भयो । लकडाउन खुलेसँगै मानिसहरुको चहलपहल र एक ठाउँबाट अर्को स्थानमा जाने–आउने क्रम बढ्दा तथा जनस्वास्थ्यको मापदण्ड नअपनाउँदा नियन्त्रणउन्मुख रहेको संक्रमणले फेरि रफ्तार लिएको देखिन्छ ।
संक्रमणको दोस्रो लहरसँगै भारतमा पनि निर्वाचनका गतिविधिले छोटो समयमा संक्रमण र मृत्युदर ह्वात्तै बढेको देखिन्छ । नेपालमा पनि अहिले त्यस्तै गल्ती गर्ने तयारीमा सरकार लागेको छ ।
भारतमा देखिएको दोस्रो लहरबारे चिकित्सकहरुले पटक–पटक सचेत गराए पनि व्यवस्थापनमा देखिएको लापरवाहीले नेपालमा अनपेक्षित रुपमा संक्रमणदर र मृत्युदर बढ्न पुगेको छ । अहिले देखिएको लहर अबको केही दिनमा कम हुँदै गए पनि कात्तिक र मङ्सिरमा भने फेरि अर्को लहर आउने र त्यो झन् खतरनाक हुने विज्ञहरुको प्रक्षेपण छ । विज्ञहरुले यसका लागि तयारी अवस्थामा रहँदै रोकथामका काम अगाडि बढाउन सुझाव दिइरहेका छन् ।
गत वर्षको तथ्यांक हेर्दा कात्तिक र मङ्सिरको दुई महिनामा नेपालमा संक्रमणदर उच्च विन्दुमा पुगेको थियो । अघिल्लो वर्षको कात्तिक र मङ्सिर महिनामा मात्र नेपालमा ९६ हजार ११७ जनालाई कोरोना संक्रमण भएको तथ्यांक छ ।
२०७६ माघमा देखिएको संक्रमण असोज २३ गतेसम्म पुग्दा एक लाख नाघेको थियो । यस्तै मृत्यु हुने संक्रमितको सख्या ६०० पुगेको थियो । तर, उक्त दुई महिना (कात्तिक–मङ्सिर)को अवधिमा नै झण्डै यो संख्या दोब्बर भयो । दुई महिना करिब एक लाख व्यक्तिमा संक्रमण भयो भने ५८४ जना संक्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयको तथ्यांक छ । संक्रमणमात्र होइन मृत्युदर पनि दोब्बर भएको थियो । सो अवधिमा ८९ हजार ४०९ संक्रमित निको भएका थिए ।
यो समाचार कल्पना पौडेलले नेपाल लाईभ डटकममा लेख्नुभएको छ ।