नवनियुक्त प्रधानमन्त्री देउवाद्वारा शपथ ग्रहण (देउवाको ५ औँ पटक सम्म प्रधानमन्त्री बन्दाको राजनितिक यात्रा सहित)

pm sapath

असार ३०, कास्की,

नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ । राष्ट्रपति भवन शीतल निवासमा शेरबहादुर देउवाले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष शपथ ग्रहण गर्नुभएको हो ।

यसअघि बेलुका ६ बजे हुने भनिएको शपथ ग्रहण झन्डै दुई घण्टा ढिलो गरी सुरु भएको हो । राष्ट्रपति कार्यालयको विज्ञप्तिमा संविधानको धारा नै उल्लेख नगरि देउवालाई प्रधानमन्त्रीमा नियुक्त गरिएपछि विवाद भएको थियो । त्यसपछि नियुक्ति पत्र सच्याएपछि देउवाले शपथ लिनुभएको हो ।
कांग्रेस सभापति देउवाको ५ औँ पटक सम्म प्रधानमन्त्री हुँदाको राजनितिक यात्रा

dewa


२००३ सालमा डडेल्धुराको असीग्राममा जन्मनुभएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राजनीतिशास्त्रमा स्नातकोत्तर गर्नुभएको छ ।
२०२८ सालमा नेविसङ्घको सभापति बन्नुभएका देउवा विद्यार्थी राजनीतिबाट राष्ट्रिय राजनीतिमा प्रवेश गर्नुभएको हो । देउवाले राजनीतिक जीवनकालमा पटक–पटक गरी नौ वर्षभन्दा बढी समय जेल जीवन बिताउनुभएको छ ।
देउवा २०४८ सालदेखि यताका सबै संसदीय तथा संविधान सभा चुनावमा अपराजित हुनुहुन्छ । देउवा २०७२ साल फागुनमा सम्पन्न कांग्रेसको १३ औँ महाधिवेशनबाट पार्टी सभापति बन्नुभएको हो । २०५९ सालमा नेपाली कांग्रेस विभाजन गरेर उहाँ नेपाली कांग्रेस (प्रजातान्त्रिक) को सभापति बन्नुभएको थियो । २०६४ सालमा पार्टी एकीकरण गरेर देउवा पार्टीको वरिष्ठ नेता बन्नुभएको थियो ।
२०४८ सालमा गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा गृह मन्त्री रहनुभएका देउवा २०५२ सालमा पहिलो पटक प्रधानमन्त्री बन्नुभएको थियो । यस पटकसम्म उहाँ पाँचौँ पटक प्रधानमन्त्री बन्नुभएको छ ।
२०५२ सालमा एमाले नेता मनमोहन अधिकारी नेतृत्वको अल्पमतको सरकार ढलेपछि देउवा पहिलो पटक संयुक्त सरकारको प्रधानमन्त्री बन्नुभएको थियो ।
त्यस्तै २०५८ सालमा देउवा दोस्रो पटक प्रधानमन्त्री बन्नुभयो । तर तत्कालीन राजा ज्ञानेन्द्र शाहले सत्ता हातमा लिएपछि देउवालाई पदच्युत गर्नुभयो ।
२०६१ सालमा तत्कालीन राजा ज्ञानेन्द्रले पुनः देउवालाई नै प्रधानमन्त्रीमा नियुक्त गर्नुभयो । २०६१ सालमा देउवा तेस्रो पटक प्रधानमन्त्री बन्नुभयो ।
यस्तै २०७४ सालमा नेकपा माओवादीको समर्थनमा चौथो पटक प्रधानमन्त्री बन्नुभयो । त्यतिखेर माओवादीले एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई दिएको समर्थन फिर्ता लिएर देउवालाई साथ दिएको थियो ।
अहिले फेरि माओवादीकै मुख्य समर्थन र एमाले तथा जनता समाजवादी पार्टीका केही सांसदको समर्थनमा सर्वोच्चको परमादेशपछि देउवा पाँचौँ पटक प्रधानमन्त्री बन्नुभएको हो ।