भदौ २, काठमाण्डौ,
सत्तारुढ कांग्रेसकै नेताहरूको समेत विरोधका बाबजुद सरकारले राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश ल्याएको छ ।
सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आज बुधवार अध्यादेश जारी गर्नुभएको छ । अध्यादेश जारी भएसँगै एमालेको माधव नेपाल समूह नयाँ दल गठनको तयारीमा जुटेको छ । एमालेको नेपाल पक्ष र जसपाको महन्थ ठाकुर पक्षलाई अर्को दल खोल्ने बाटो सहज बनाइदिएर आफ्नो आयु टिकाउनकै लागि सरकारले अध्यादेश ल्याएको हो ।
अध्यादेशमा पार्टी केन्द्रीय सदस्य वा संसदको बीस प्रतिशत सदस्यले चाहेमा अर्को दल गठन गर्न सक्ने व्यवस्था छ । प्रतिनिधि सभाको चालु अधिवेशन अन्त्य गरेर संसद् छल्दै अध्यादेश ल्याएको भन्दै सत्तारुढ कांग्रेसकै नेताहरू असन्तुष्ट छन् ।
‘सरकार सञ्चालनको सुविधाका लागि राजनीतिक दल सम्बन्धी अध्यादेश ल्याइएको हुन सक्छ तर अध्यादेशबाट राजकाज चलाउने सोचको समर्थन गर्न सकिँदैन’, नेपाली कांग्रेसका नेता शेखर कोइरालाले सामाजिक सञ्जाल फेसबुकमा लेख्नुभएको छ ।
त्यस्तै कांग्रेसका नेता गगन थापाले हिजो गलत, भएको कुरा आज र भोलि पनि गलत नै हुने बताउनुभएको छ ।
संविधानविद् भीमार्जुन आचार्यले ट्वीट गर्दै सरकारले अध्यादेश ल्याउनु संविधान विपरीत काम भएको लेख्नुभएको छ ।