‘यास’ चक्रवातको प्रभावले देशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना

yas chakrawaat

जेठ ११, पोखरा,


बङ्गालको खाडीमा रहेको यास चक्रवातको प्रभाव नेपालमा पनि देखिन थालेको छ । लुम्बिनी प्रदेश हुँदै प्रवेश गरेको चक्रवातले देशका धेरै ठाउँमा बुधबारदेखि हावाहुरी र चट्याङ्ग सहित वर्षाको सम्भावना रहेको मौसमविद् समिर श्रेष्ठले जानकारी दिनुभयो ।
चक्रवातको प्रभावले दिउँसोपछि सुदूरपश्चिम बाहेकका सबै प्रदेशहरुमा बादल लाग्ने र केही ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान् महाशाखाले जनाएको छ ।
चक्रवातको प्रभाव अबका केही दिन नेपालमा पनि देखिने भन्दै महाशाखाले सबैलाई सुरक्षित रहन अनुरोध पनि गरेको छ । मेघगर्जन, चट्याङ्ग, हावाहुरी र असिनापानीको समेत सम्भावना रहेकाले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको हो ।
बुधबारदेखि केही दिन देशका धेरैजसो ठाउँमा सामान्यदेखि मध्ययम खालको वर्षा र गण्डकी प्रदेश सहित प्रदेश–१, प्रदेश–२, वाग्मती प्रदेश र लुम्बिनी प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविद श्रेष्ठले बताउनुभयो ।
हिमाली क्षेत्रमा हिमपात र तीव्र गतिको हावा चल्ने सम्भावना रहेकाले अबका केही दिन हिमाल आरोहणमा नजान र हिमाल छेउमा भएकाहरुले सुरक्षित रहन पनि महाशाखाले अनुरोध गरेको छ ।