सहमति भएको केहि घण्टामै जसपा भित्र फेरी विवाद उत्पन्न

jasapa bibaad

जेठ ४, काठमाण्डौ,

जनता समाजवादी पार्टी जसपाभित्रको विवाद बल्झिएको छ । अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवबीच पार्टीलाई एकताबद्ध गरेर अगाडि लैजाने सहमति गरेर विज्ञप्ति ल्याएलगत्तै विवाद बल्झिएको हो ।

अध्यक्ष ठाकुरले संसदीय दलको नेतामा राजेन्द्र महतो चयन गरेको भन्दै संसद् सचिवालयमा दर्ता गर्न पठाएपछि सहमति भाँडिएको हो । अध्यक्ष ठाकुरले पत्र पठाएलगत्तै अर्का अध्यक्ष यादवले पनि संसदीय दलमा कोही नेता चयन नगरेको भन्दै अर्को पत्र पठाउनुभएको छ । दलको विधान समेत नबनेको अवस्थामा दलको नेता चयन हुन नसक्ने उहाको दाबी छ ।

यादव भन्नुहुन्छ, ‘पार्टीलाई सहमतिमा अगाडि बढाउनका लागि ८ र ९ गते कार्यकारिणी समितिको बैठक बोलाइएको छ । त्यसअघिको कुनै निर्णय मान्य हुँदैन ।’

सत्ता गठबन्धनमा निर्णायक बनेको जसपा भित्रको विवादले राजनीति तरंग पैदा भइरहेको छ । अध्यक्ष ठाकुर पक्षले महतोलाई संसदीय दलको नेता चयन गरेको मान्य नहुने दाबी गर्दै आएको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई निरन्तरता दिने या गठबन्धनको सरकार बनाउने भन्ने विवाद उत्कर्षमा पुग्दा जसपा विभाजनको डिलमा पुगेको थियो । यसअघि ओली संसद्मा विश्वासको मत लिदैगर्दा ठाकुरपक्ष तटस्थ बसेको थियो भने यादवपक्ष विपक्षमा उभिएको थियो ।

पुनः नियुक्तिपछि ओलीले संसद्मा विश्वासको मत लिने तयारी गर्दैगर्दा अध्यक्ष यादवले भने पार्टीभित्र सहमति गरेर एकीकृत रुपमा नै ओलीको विपक्षमा उभिने धारणा सार्वजनिक गर्ने बताउनुभएको थियो ।

जसपार्टीका दुई नेता महन्थ ठाकुर र उपेन्द्र यादवले आजै संयुक्त विज्ञप्ति निकाल्दै आफ्नै नेतृत्वमा सरकार बन्ने अवस्था भए त्यसका लागि अघि बढ्ने निर्णय गरेको थियो । संयूक्त निर्णयको विज्ञप्ति निकालेको केहि समय पछि नै जसपा भित्रको अर्को विवाद सतहमा आएको हो ।