साउन १०, काठमाण्डौ,
बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तलाई न्याय माग्दै राजधानीको माइतीघरमा प्रदर्शन भएको छ । निर्मलाको हत्या भएको ३ वर्ष भइसक्दा पनि छानबिन नभएको र हत्यारा पत्ता लगाउन नसकेको भन्दै अखिल क्रान्तिकारीले प्रदर्शन गरेको हो ।
२०७५ साउन १० गते उल्टाखाम महेन्द्रनगरकी १३ वर्षीय किशोरी निर्मला पन्तको बलात्कार र हत्या भएको थियो । घर नजिकै रहेको उखुबारीमा साउन ११ गते घोप्टो परेको अवस्थामा निर्मलाको शव भेटिएको थियो ।
पोष्टमार्टम रिपोर्टबाट निर्मलाको बलात्कारपछि घाँटी थिचेर हत्या गरिएको पाइएको थियो । २०७५ साउन १० गते भएको घटनाको आइतबार(आज) ३ वर्ष पुगेको छ । तर, घटनाको तीन वर्ष पूरा हुँदासमेत सरकारले हत्यारा पत्ता लगाउन सकेको छैन ।