आजदेखि कास्किमा लामोदुरिका सवारी चल्न पाउने : निषेधाज्ञा २० गतेसम्म लम्बियो

nishedhagya

साउन ५, कास्की

जिल्ला प्रशासन कार्यालय कास्कीले खुकुलो गरि निषेधाज्ञा साउन २० सम्म लम्ब्याएको छ । प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमद्धारा हस्ताक्षरित विज्ञप्ति अनुसार सोमबारराति १२ बजेबाट लागुहुनेगरि निश्चित संख्यामा लामोदुरीका सवारी समेत चल्न दिने बताईएको छ ।

यसअघि जारि गरिएको निषेधाज्ञाको समय सोमबार राति १२ बजे सकिएको छ । सोहि समयबाट लागुहुनेगरि निषेधाज्ञालाई खुकुलो गरि २० गतेसम्मकोलागि थप गरिएको हो ।

लामो दूरीका सवारी साधनहरुले निश्चित संख्यामा सम्बन्धित यातायात व्यवसायी संघ संस्था र जिल्ला प्रशासन कार्यालयको सिफारिसमा सवारी संचालन गर्न पाउने भएका छन् । जसका लागि स्विकृत गरिएको सिट संख्या भन्दा बढी यात्रु राख्न पाइने छैन । चालक तथा सहचालकले अनिवार्य फेससिल्ड प्रयोग गर्नुपर्ने छ भने, यात्रुले मास्क अनिवार्य लगाउनु पर्ने छ ।

विज्ञप्ति अनुसार अब कास्की भित्र चल्ने निजी सवारीसाधन र ट्याकसीको हकमा चालकसहित बढीमा ४ जना सवार रही स्वास्थ्य सम्बन्धी मापदण्ड अपनाएर सञ्चालन गर्न पाउनेछन् । जोरविजोर प्रणालिलाई हटाईएको छ ।

यस्तै भौतिक रुपमा परीक्षा र पठनपाठन नगर्न भनिएको छ भने वैवाहिक कार्यक्रममा सुरक्षा मापदण्ड अपनाएर बढीमा २५ जनामात्र उपस्थित हुन भनिएको छ ।

यस्तै मठमन्दिरहरुमा समेत स्वास्थ्य मापदण्ड अपनाएर पुजापाठ र प्रार्थना गर्न पाईने भएको छ । पसल तथा व्यवसाय पनि मापदण्ड अपनाएर सञ्चालन गर्न विज्ञप्तिमा भनिएको छ ।

होटलहरुले अब अनलाइन डेलिभरी, होम डेलिभरी र टेक अवे सेवा राति ८ बजेसम्म दिन पाउने छन् । होटलहरुलाई पाहुन राख्दा पूर्ण क्षमताको आधामात्र राख्न भनिएको छ । आदेश पालना नगरे स्थानीय प्रशासन ऐन २०२८, संक्रामक रोग ऐन २०२०, कोभिड १९ संकट व्यवस्थापन अध्यादेश लगायतल प्रचलित ऐन, कानुन बमोजिम कारवाही हुने कास्की प्रशासनले जनाएको छ ।