खाडी र मलेसियामा ५४५ जना नेपाली श्रमिक जेलमा

malay

भदौ १, काठमाण्डौ,

वैदेशिक रोजगारीका लागि खाडीका ६ देश र मलेसिया गएका ५४५ जना नेपाली त्यहीको जेलमा थुनिएका छन् ।

वैदेशिक रोजगार बोर्डको पछिल्लो तथ्याङ्क अनुसार विभिन्न मुद्दामा ५४५ नेपाली श्रमिक जेल परेका हुन्। जेलमा ५ सय २६ जना पुरुष र १९ जना महिला रहेका छन् ।

जेलमा रहेका नेपाली मध्ये २५ जनालाई त मृत्यु दण्डको सजाय सुनाइएको छ । बोर्डका अनुसार कुवेतमा ३ जनालाई यूएईमा १ जनालाई, मलेसियामा १६ जनालाई र साउदी अरबमा पाँच जना नेपाली श्रमिकलाई मृत्युदण्डको सजाय सुनाइएको छ ।

१६ जनालाई भने आजीवन कारावासको सजाय तोकिएको छ । कुवेतमा ९ जनालाई, यूएईमा ४ जनालाई र कतारमा ३ जनालाई आजीवन कारावासको सजाय तोकिएको बोर्डको तथ्याङ्कमा उल्लेख छ ।

बहराइनमा २ जना नेपालीलाई २५ वर्षको जेल सजाय तोकिएको छ भने कुवेत, कतार र बहराइनमा एक एक जनालाई १५ वर्षको जेल सजाय भएको छ ।

३६ जना नेपालीहरूलाई १५ वर्षभन्दा कम जेल सजाय तोकिएको छ । कुवेतमा ३१, यूएईमा ४ र बहराइनमा १ गरी ३६ जना नेपाली १५ वर्षभन्दा कमको जेल सजाय भोगिरहेका छन् ।

यस्तै २९ जनालाई १० वर्षभन्दा कम, १ जना पाँच वर्षभन्दा कम, ४४ जनालाई एक वर्षभन्दा कम, ७५ जनालाई तीन महिनाभन्दा कमको जेल सजाय तोकिएको छ । २ सय ९३ जनाको सजाय तोक्न बाँकी रहेको र १८ जनालाई जरिवाना तोकिएको बोर्डले जनाएको छ ।