पोखरामहानगरका मेयर जिसीको न्यूरो अस्पतालमा सफल शल्यक्रिया

man-bahadur-gc
जिसिको स्वास्थ्य अवस्था बारे जानकारी लिदै पोखरेल

एमालेका महासचिव पोखरेलद्धारा स्वास्थ्य लाभको कामना

साउन २, कास्की

कास्कीको पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीको शल्यक्रिया सफल भएको छ ।

काठमाडौँ स्थित न्यूरो अस्पतालमा शल्यक्रिया सफल भएको महानगरपालिका अन्तर्गत सञ्चालित बहुप्राविधिक शिक्षालयका निर्देशक लक्ष्मण तिमिल्सिनाले जानकारी दिनुभयो । शनिबार बिहान १० बजेदेखि न्युरो सर्जनहरुको टिमले सुरु गरेको शल्यक्रिया दुई घन्टामा सफल भएको तिमिल्सिनाले बताउनुभएको छ ।

जिसिलाई काठमाण्डौँ लाँदै गर्दा

शुक्रबार बिहान ४ बजे अचानक अस्वस्थ महसुस गर्नुभएका जिसीलाई पोखराको मेडिप्लस हुँदै मणिपाल शिक्षण अस्पताल लगिएको थियो । मणिपालका चिकित्सकले मस्तिष्कघात पुष्टि गरेपछि उहाँलाई शुक्रबार बिहान ११ बजे हेलिकोप्टर मार्फत काठमाडौं लगिएको थियो ।

२२ घण्टा प्रत्यक्ष निगरानीमा उपचार गरेपछि चिकित्सकको टोली शल्यक्रिया गर्ने निर्णयमा पुगेको हो । जिसिको स्वास्थ्य अवस्था अहिले सुधारात्मक रहेको तिमिल्सिनाले जानकारी दिनुभएको छ ।
यसैबिच
नेपाल कम्युनिष्ट पार्टी एमालेका महासचिव ईश्वर पोखरेलले मेयर जिसिको स्वास्थ्य अवस्था बारे जानकारी लिनु भएको छ । अस्पताल मै पुगेर महासचिव पोखरेलले जिसिको स्वास्थ्य लाभको कामना गर्नु भएको हो ।