जथाभाबी भइरहेको मूल्यवृद्धि नियन्त्रण हुन सकेन

मूल्य-वृद्धि

जेठ १८, धादिङ्,

बजारमा दिनहुँजसो अनुगमन भइरहेको भनिए पनि जथाभाबी भइरहेको मूल्यवृद्धि नियन्त्रण हुन सकेको छैन । बजारमा उत्पादकबाट उपभोक्तासम्म पुग्दा उपभोग्य सामग्रीको मूल्यमा ठूलो अन्तर रहेको पाइएको छ ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजारमा बिक्री हुने सामानको मूल्य, परिणाम र गुणस्तरबारे गरेको अनुगमनमा किसान, उत्पादक र उपभोक्ताबीचको मूल्यमा ठूलो अन्तर पाइएको हो।

धादिङको धुनीबेंसी र नौबिसेदेखि चितवनको मुग्लिङ बजारसम्म गरेको अनुगमनमा यस्तो पाइएको हो ।

विभागका अनुसार निजी तथा सहकारी तरकारी सङ्कलक केन्द्रमार्फत हुने हरियो तरकारीको कारोबार, खाना पकाउने एलपी ग्यासका उद्योग र चितवनका कुखुराको दाना उत्पादक उद्योग, ह्याचरी उद्योग र कुखुरा फर्ममा अनुगमन गर्दा एकै किसिमको उत्पादनको मूल्यमा सङ्कलन केन्द्रपिच्छे खरिद बिक्री मूल्य फरक–फरक पाइएको छ ।

किसान वा उनीहरुका प्रतिनिधिको काठमाण्डौसम्म पहुँच नहुँदा किसानले सस्तोमा बेच्नु परेको छ भने उपभोक्ताले महँगोमा खरिद गर्नुपर्ने बाध्यता छ । आफूखुसी मूल्य राख्नेलाई भोलिसम्म सबै कारोबारको विवरण बुझाउन निर्देशन दिइएको विभागले जनाएको छ ।