साउन २५ गतेभित्रै एसईई नतिजा सार्वजनिक हुने

class

साउन १४, कास्की,

राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीले माध्यमिक शिक्षा परीक्षा (एसईई) को आन्तरिक मूल्यांकनको नतिजा यही साउन २५ गतेभित्र सार्वजनिक गर्ने भएको छ ।

यही साउन २५ गतेभित्रमा २०७७ को एसईई नतिजा सार्वजनिक गर्ने गरी अहिले तीव्ररूपमा काम भइरहेको परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) का परीक्षा नियन्त्रक रुद्र अधिकारीले बताउनुभयो ।

सबै जिल्लाबाट विद्यार्थीको मूल्यांकन नतिजा आएर इन्ट्री सकेर नम्बर रुजु गर्ने काम भइरहेको बताउँदै उहाँले कुनै प्राविधिक कठिनाई नआए आगामी शुक्रबारभित्र विद्यार्थीको नतिजा रुजु गरिसक्ने र त्यसको एक साताभित्रमा नतिजा सार्वजनिक गर्ने जानकारी दिनुभयो । कार्यालयका अनुसार २०७७ सालको एसईई परीक्षाको लागि पाँच लाख १७ हजार विद्यार्थीले रजिष्ट्रेशन फारम भरेका थिए ।