बहिनी एडुकेयरद्धारा एकैदिन पोखराका १०० घरपरिवारलाई निःशुल्क खाद्यान्न वितरण

help

जेठ २५, पोखरा,

पोखरा महानगरपालिकाको मालेपाटनमा रहेको बहिनी एडुकेयर फाउन्डेसनले आज एकै दिन महानगरपालिकाको एक सय घरपरिवारलाई निःशुल्क खाद्यान्न वितरण गरेकोे छ ।

वडा नम्बर २३ का गरिब विपन्न तथा असहाय १०० घरपरिवारका ३ सय ९५ जनालाई प्रति परिवार २५ केजीको एक÷एक बोरा चामल, ५ केजी दाल, १५ वटाका दरले मास्क र ४ वटा डिटोल साबुन वितरण गरिएको संस्थाका संस्थापक अध्यक्ष तथा कार्यकारी प्रमुख सुरेन्द्र परियारले जानकारी दिनुभयो ।

वडाध्यक्ष विष्णु प्रसाद पराजुलीको समेत उपस्थितिमा वडाका १५ वटा टोल तथा समुदायका विपन्न १०० घर परिवारलाई कुल दुई लाख ५० हजार मूल्य बराबरको सामग्री वितरण गरिएको हो ।

संस्थाका अध्यक्ष छिरिङ लामा शेर्पा, कोषाध्यक्ष अभिजित श्रेष्ठ, तथा सदस्य विकास भट्टराई लगायतको सहयोगमा सामग्री हस्तान्तरण गरिएको साथै यस लगतै पोखरा १३ का विपन्न घरपरिवारलाई खाद्यान्न वितरण गरिने पनि कार्यकारी प्रमुख परियारले बताउनुभयो ।

वडा सँगको समन्वयमा संस्थाले विपन्न वर्गलाई सहयोग गरेको बताउँदै वडाध्यक्ष पराजुलीले सहयोग प्रति बहिनी एडुकेयर फाउन्डेसनलाई धन्यवाद दिनुभयो ।

संस्थाले यसअघि पनि कोभिडको समयमा पोखरा महानगरको वडा नं. ५ र ६ का करिब चार हजार जनालाई निःशुल्क खाना खुवाएको थियो ।

फाउन्डेसनले एकल महिला तथा आश्रित परिवारलाई शिक्षा, स्वास्थ्य, परामर्श, जीविकोपार्जन लगायतमा सहयोग गर्दै आएको छ ।