भारतको गंगा नदीमा बेवारिसे ७१ शव भेटियो, पछिल्लो २४ घण्टामा ४ हजार बढिको कोरोना संक्रमणले मृत्यु

DeathbodyGangaNadi

बैशाख २९, एजेन्सी

भारतको विहारस्थित गंगा नदी किनारमा भेटिएका बेवारिसे शवको संख्या ७१ पुगेको छ । पहिचान नखुलेका ती शव कहाँबाट आयो भन्ने समेत यकिन हुन सकेको छैन । पछिल्लो पटक महादेव घाटमा भेटिएका ७१ शव बक्सर जिल्ला प्रशासनले पोष्टमार्टम पछि गाडेको जनाएको छ । शवको डिएनए नमूना भने सुरक्षित राखिएको छ ।
अहिले वर्षाको बेला नभएको र नदीमा जल सतह घटेकाले बाढीले बगाएर ल्याएको भन्ने अनुमान पनि गर्न नसकिने स्थानीय अधिकारीहरुले बताएका छन् ।
कतिपयले भने शव जलाउने दाउराको मूल्य महँगो भएकाले शव त्यत्तिकै फ्याँकिएको हुनसक्ने अनुमान गरेका छन् । यसअघि पनि उत्तर प्रदेशको गाजीपुर जिल्ला र बलिया बिहारको सीमामा पर्ने गंगा नदी किनारमा क्षतविक्षत अवस्थामा दुई दर्जन बढी शव भेटिएका थिए ।
यसैबिच
कोरोना महामारीको चपेटामा नराम्ररी फसेको भारतमा पछिल्लो २४ घण्टाभित्र थप ४,२०५ जना संक्रमितको ज्यान गएको छ । ३ लाख ४८ हजार नयाँ संक्रमित पहिचान भएको छ ।
त्यहाँ अहिलेसम्म २ करोड ३३ लाख ४० हजार ९३८ जनालाई कोरोना संक्रमण भइसकेको छ । २ लाख ५४ हजार १९७ जनाले संक्रमणपश्चात ज्यान गुमाएका छन् ।