गण्डकीका ११ सहित देशभर थप ४४ जनाको कोरोना संक्रमणबाट मृत्यु

corona update

असार ४, पोखरा,

गण्डकी प्रदेशमा शुक्रबार थप ११ जनाको कोरोना संक्रमणका कारण मृत्यु पुष्टि भएको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पछिल्लो २४ घण्टामा गण्डकी प्रदेशका विभिन्न जिल्लामा गरि थप ११ जनाको मृत्यु पुष्टि भएको हो । थप मृत्यु पुष्टि हुनेमा कास्कीका ४ जना सहित, म्याग्दीका ३ तथा बागलुङ, तनहुँ, नवलपुर र गोरखाका एकएक जना रहेका छन् । योसंगै गण्डकीमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ८ सय ७६ पुगेको निर्देशनालयले जनाएको छ ।

त्यस्तै शुक्रबार गण्डकीमा थप १ सय ८४ जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा गण्डकीका १ हजार १ सय २४ जनामा गरिएको नमुना परीक्षणमा थप १८४ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको हो ।

थप संक्रमण पुष्टि हुनेमा कास्कीका ८१ जना सहित तनहुँका २८, नवलपुरका २७, पर्वतका २६, बागलुङका १८, स्याङ्गजाका २ तथा लमजुङ र म्याग्दीका एकएक जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको हो ।

योसंगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या ५१ हजार ९ सय ५२ पुगेको छ । पछिल्लो २४ घण्टामा गण्डकीबाट ५ सय १३ जना कोरोनामुक्त भएसंगै प्रदेशमा कोरोनामुक्त हुनेको कुल संख्या ४६ हजार ४ सय २५ पुगेको छ ।
यसैबिच
पछिल्लो २४ घण्टामा देशभर थप २ हजार ७ सय ६८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा थप ४ हजार २० जना कोरोना मुक्त भएसँगै सङ्क्रमणमुक्त हुनेको कुल सङ्ख्या पाँच लाख ४९ हजार ६ सय ८२ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा ४४ जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएसँगै संक्रमणका कारण ज्यान गुमाउनेको कुल सङ्ख्या ८ हजार ६ सय ४१ पुगेको छ । अहिले नेपालमा ५९ हजार ६ सय २४ जना सक्रिय सङ्क्रमित रहेको मन्त्रालयले बताएको छ ।