पुम्दीकोटलाई धार्मिक करिडोरका रुपमा विकास गर्नुपर्छ : मुख्यमन्त्री पोखरेल (फोटो फिचर)

program

साउन १२, कास्की,

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले गण्डकीमा धार्मिक पर्यटनको सम्भावना अत्यधिक भएको भन्दै यसको प्रवद्र्धनका लागि सरकार क्रियाशील हुने बताउनुभएको छ ।

सोमबार पोखराको पुम्दीकोट विकास समितिले पोखरामहानगरपालिका २२ मा बनाउँदै गरेको विशाल महादेव मुर्ति अवलोकनपछि मुख्यमन्त्री पोखरेलले पर्यटन र कृषि नै प्रदेश समृद्धिको आधार भएकाले त्यसै अनुसारको योजना बनाएर अगाडि बढ्ने बताउनुभयो ।

उहाँले नवलपुरको गजेन्द्रमोक्ष धाम देवघाट, पुम्दीकोट हुँदै मुक्तिनाथसम्मको क्षेत्रलाई धार्मिक करिडोरका रुपमा विकास गर्नुपर्ने धारणा राख्नुभयो ।
जनस्तरबाट सुरु ठूलो लगानीमा काम भएकोमा पुम्दीकोट बासिको प्रशंसा गर्दै विगतका वर्षमा जस्तै प्रदेश सरकारको सहयोग निरन्तर रहने प्रतिबद्धता व्यक्त गर्नुभयो । प्रदेश सरकारले यो वर्ष पनि ५० लाख रुपैयाँ पुम्दीकोटका लागि छुट्याएको मुख्यमन्त्री पोखरेलले बताउनुभयो ।

पुम्दीकोट पुग्ने बाटाका बारेमा सम्बोधन गर्दै उहाँले ‘पुम्दीकोटका महत्वलाई बुझेर क्षमता अनुसार सहयोग साथै आसपासका बाटोका लागि संघ सरकारसँग समन्वय गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा अर्थमन्त्री रामजीप्रसाद बराल जीवनले पुम्दीकोट पुग्ने बाटो निर्माण प्राथमिकतामा राख्नुपर्ने भन्दै धार्मिक पर्यटकीय केन्द्रका रुपमा स्थापित पुम्दीकोटमा मन्दिरका लागि सरकाररले अझै रकम थप्नुपर्ने बताउनुभयोे ।

कार्यक्रममा मन्त्रीहरु कुमार खड्का, मेखलाल श्रेष्ठ, बिन्दुकुमार थापा, चन्द्रबहादुर बुढा, दीपक थापा लगायतको सहभागीता रहेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै गण्डकी प्रदेश सभामा नेपाली कांग्रेस सचेतक ओमकला गौतमले पर्यटन प्रवद्र्धनबाटै समृद्धि सम्भव भएको र धार्मिक केन्द्रहरुको निर्माणले यसमा अझै टेवा पुग्ने बताउनुभएको छ ।

समितिका अध्यक्ष चन्द्रकान्त बरालले जनस्तरबाट थालेको प्रयासले अहिले विशाल रुप लिएको भन्दै विश्वकै पर्यटकहरु आकर्षण गरिने थलो भएकाले पुम्दिकोटलाई सरकारीस्तरबाट समेत थप सहयोग मिल्ने अपेक्षा गर्नुभयो ।

पुम्दीकोटलाई शिवधामका रुपमा स्थापित गरी धार्मिक केन्द्रका रुपमा विकास गरेमा स्वभाविक रुपमा आम्दानी बढेर जाने उहाँको भनाइ थियो ।

त्यस्तै कांग्रेस नेता खेमराज पौडेलले पोखरा बजार नजिकै रहेको पवित्रस्थल पुम्दीकोटमा बन्दै गरेको संरचनाले गण्डकी प्रदेशकै मुहार फेर्न विश्वास व्यक्त गर्नुभयो ।

वडाध्यक्ष मित्रलाल बरालले पुम्दीकोट पुग्न धेरै सडक भए पनि एउटै पनि पिच नहुँदा समस्या परेको बताउनुभयो ।

पुम्दीकोट विकास समिति उपाध्यक्ष हिमलाल बरालले सबैको सहयोगबाट पुम्दीकोट यो अवस्थामा पुगेको भन्दै आगामी दिनमा समेत सहयोग मिल्नेमा आँफु विस्वश्त रहेको बताउनुभयो ।

समितिका सचिव प्रकाश बरालले पुम्दीकोटको ऐतिहासिक पक्षबारे जानकारी गराउँदै प्रदेश सरकारले यसको स्वामित्व लिएर प्रवद्र्धमा जोड दिन आग्रह गर्नुभयो ।

आर्किटेक्ट इन्जिनियर बाबुराम बरालले युवा इन्जिनियहरुको साथ लिएर सबै खालका अध्ययनपछि पुम्दीकोटमा यति ठूलो संरचना निर्माण गरिएको बताउनुभयो । प्रविधि नेपालकै भए पनि महादेवको मुर्ति भने भारतबाट मगाएको उहाँले जानकारी दिनुभयो । भारतको मथुराबाट ल्याइएको मुर्ति रेनफोर्स फाइबरको रहेको र यो कम्तीमा पनि सय वर्ष टिक्ने उहाँको भनाई छ ।

आगामी दिनमा पल्तिरको डाँडामा कुमार र पार्वतीको मुर्ति बनाउने लक्ष्य रहेको भन्दै उहाँले शिव म्युजियम बनाउने लगायतका योजना सार्वजनिक निजी साझेदारीमा गर्न सकिने बताउनुभयो ।

मुख्यमन्त्रीसहित मन्त्री र सांसदको टोलीले मुर्ति निर्माणस्थलको अवलोकन पनि गरेको छ ।

पुम्दीकोटमा राखिएको महादेवको मुर्ति ५५ फिट अग्लो रहेको छ । अध्यक्ष बरालले अहिलेसम्म ७५ प्रतिशत काम सकिएको र २५ प्रतिशत काम पनि छिटै सकिने बताउनुभयो ।


अध्यक्ष बराल