बैशाख २५, पोखरा,
कोभिड–१९ को महामारीले पर्यटन क्षेत्र नराम्ररी प्रभावित भएको जनाउँदै पोखराका पर्यटन व्यवसायीले पर्यटन क्षेत्रलाई सङ्कटग्रस्ट क्षेत्र घोषणा गर्न माग गरेका छन् । पोखरा पर्यटन परिषद्को आयोजनामा पर्यटन क्षेत्रमा कोभिड–१९ को असर र आगामी योजनाका बारेमा सुझाव सङ्कलनका लागि आयोजना गरिएको ’भर्चुअल’ छलफलमा परिषद्मा आबद्ध संघसंस्थाका प्रतिनिधिले सो माग गरेका हुन् ।
पहिलो चरणको कोरोनापश्चात् सुरक्षा सतर्कतासहित आन्तरिक पर्यटकको चलपहलले गति लिँदै गर्दा देखिएको न्यू भेरियन्टको कोरोनाले पर्यटन क्षेत्रलाई नराम्ररी असर गरेको र व्यवसाय धराशायी भएको जनाउँदै पर्यटन व्यवसायीले सङ्कटग्रस्त क्षेत्र घोषणा गरेर राज्यले राहत प्याकेज ल्याउनुपर्ने माग गरेका हुन् ।
परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराईले प्रत्यक्ष प्रभावमा परेको पर्यटन क्षेत्रलाई पछिल्लो समयको भेरियन्टले झनै प्रभावित पारेको जनाउँदै व्यवसायीलाई राहत दिन राज्य संवेदनशील हुनुपर्ने बताउनुभयो ।
उहाले पर्यटन क्षेत्रलाई सङ्कटग्रस्त घोषणा गरेर व्यवसायीलाई पलायन हुनबाट जोगाउने जिम्मा राज्यको भएको बताउनुभयो ।
पर्यटन क्षेत्रलाई जोगाउन यस क्षेत्रका व्यवसायी र पर्यटन मजदुरलाई प्राथमिकताका साथ खोप उपलब्ध गराएर सकारात्मक सन्देश प्रवाह गर्नुपर्ने र आगामी बजेटमा पर्यटन क्षेत्रलाई रुग्ण उद्योगका रुपमा घोषणा गरेर विशेष राहत प्याकेज ल्याउनुपर्ने उहाको भनाइ छ ।