गण्डकी प्रदेश अक्सिजन उत्पादनमा आत्मनिर्भर, खपत भन्दा उत्पादन बढि

oxijan

जेठ ४, कास्की,

देशका विभिन्न जिल्लामा अक्सिजनको अभाव भएको खबरहरु आईरहँदा गण्डकी प्रदेश भने अक्सिजनमा आत्मनिर्भर रहेको बताईएको छ । ११ जिल्ला रहेको गण्डकी प्रदेशमा अहिलेको अवस्थासम्म माग भन्दा धेरै उत्पादन गर्न सक्षम रहेको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका वरिष्ठ स्वास्थ्य शिक्षा प्रशिक्षक नवराज शर्माले बताउनुभयो ।

प्रदेशमा सक्रिय संक्रमित संख्या करिब ९ हजार रहेको बेला मागभन्दा करिब दोब्बर बढी अक्सिजन उत्पादन भैरहेको शर्माको भनाई रहेको छ ।

शर्माका अनुसार गण्डकी प्रदेशमा अहिले अक्सिजनको दैनिक उत्पादन प्रतिदिन १४ सय ८९ सिलिन्डर रहेको छ भने दैनिक माग र आपूर्ति आठ सय ४६ सिलिन्डर रहेको छ ।

यो तथ्याङ्कअनुसार प्रदेशमा उत्पादन भइरहेकोमध्ये ५६ दशमलव ८१ प्रतिशत मात्र अक्सिजन खपत भइरहेको छ । शर्माले दिएको जानकारी अनुसार गण्डकीका ११ जिल्लामा अक्सिजनका सिलिन्डरहरू ५ हजार ६ सय ३२ रहेका छन् ।

तर यो बाहेक केही जिल्लाका स्थानीय तहहरूले अस्पताल, ग्यास उद्योगसँग समन्वय नगरी आ–आफ्नै तरिकाले सिलिन्डरको जोहो गरेका छन् । कतिपय स्थानीय तहले आफ्नै तरिकाले सिलिन्डरको व्यवस्थापन गरेका कारण उपलब्ध सिलिन्डरको संख्या सरकारि तथ्याङ्कमा भन्दा धेरै हुनसक्ने शर्माले बताउनुभयो ।