अध्यादेश मार्फत सरकारद्धारा बितरण मुखि बजेट सार्वजनिक

bishnu_poudel_budget

जेठ १५, कास्की

सरकारले मतदातालाई खुशी पार्ने हिसाबले बजेट ल्याउने तयारी गरेको भन्दै आलोचना भैरहँदा सार्वजनिक भएको बजेटमा धेरै लोकप्रिय कार्यक्रम समेटिएका छन् ।

अध्यादेशमार्फत सार्वजनिक भएको बजेटमा कोरोना रोकथाम र नियन्त्रणमा जोड दिइएको छ । खोप किन्न र अस्पतालको पूर्वाधार बढाउन पर्याप्त रकम विनियोजन गरिएको छ । कर्मचारीको तलब र ज्येष्ठ नागरिकको भत्ता बढाइएको छ । समग्रमा सरकारले वितरणमुखी बजेट बनाएको छ ।

सरकारले कर्मचारीको तलब दुई हजार रुपैयाँका दरले बढाएको छ । आउँदो साउन १ गते देखि नै यो लागु हुने छ । त्यस्तै सरकारले बनाएको बजेटमा वृद्धभत्ता अब मासिक ४ हजार हुने, सरकारी कर्मचारीलाई भत्ता दिएर घुम्न पठाइने, सुरक्षाकर्मीको रासन भत्तामा वृद्धि, सरकारी अस्पतालमा पत्रकारको उपचार निःशुल्क, शैक्षिक प्रमाणपत्र धितो राखेर २५ लाख रुपैयाँसम्म ऋणको व्यवस्था, कोरोना विरुद्धको खोप लिन बाँकी सबैलाई निःशुल्क खोप उपलब्ध गराउने, लगायतका लोकप्रिय कार्यक्रमहरुलाई समेटेको छ ।

यस्तै सरकारले आउँदो बजेटमा स्वास्थ्य र शिक्षालाई प्राथमिकता दिएको छ । कोभिड–१९ महामारीमा परेको व्यवसायलाई पुनरुत्थान गरी अर्थतन्त्रलाई चलायमान बनाउन विभिन्न किसिमको कर छुट र भन्सार छुट तथा पुनर्कर्जा र व्यवसाय निरन्तरता कर्जाको कार्यक्रम ल्याएको छ ।

स्वास्थ्य पूर्वाधार विकासका लागि कोभिड–१९ उपचारमा प्रयोग हुने उपकरणमा भन्सार छुटका साथै अक्सिजन प्लान्ट स्थापनाका लागि अनुदानको व्यवस्था गरेको छ ।

त्यस्तै सांसद केन्द्रित स्थानीय पूर्वाधार साझेदारी विकास कार्यक्रम खारेज गरेको छ । कोरोना महामारी नियन्त्रणका लागि बजेट आवश्यक भएको भन्दै स्थानीय पूर्वाधार साझेदारी विकास कार्यक्रम (जसलाई सांसद विकास कोष भनिँदै आएको छ) खारेज गरेको अर्थ मन्त्री पौडेलले जानकारी गराउनुभएको हो । यो कार्यक्रमका लागि सरकारले हरेक निर्वाचन क्षेत्रमा ६ करोड रुपैयाँका दरले छुट्याउँदै आएको थियो ।

संसद्का दुवै सदनमा बजेट पेस गर्नुपर्ने संवैधानिक व्यवस्था भए पनि सरकारले अध्यादेशमार्फत बजेट सार्वजनिक गरेको हो ।