केही दिनमै सरकारमा सहभागी हुन्छौँ : कर्ण

karna

जेठ २०, काठमाण्डौ,

जनता समाजवादी पार्टी (जसपा) को महन्थ ठाकुर समूह अबको केही दिनभित्रै सरकारमा सहभागी हुने भएको छ । आफूहरू अबको केही दिनमै सरकारमा सहभागी हुने तयारी भएको जसपाको महन्थ ठाकुर समूहका नेता लक्ष्मणलाल कर्णले जानकारी दिनुभयो ।

तर जसपाको उपेन्द्र यादव समूह भने यसअघि देखि नै प्रधानमन्त्री केपी शर्मा ओलीको विपक्षमा उभिएको छ । यो समूहले प्रधानमन्त्री ओलीको कदमलाई असंवैधानिक भन्दै आइरहेको छ । जसपाको एउटा समूह सरकारमा जाने तयारी गरिरहँदा अर्को समूह विपक्षी गठबन्धनको साथमा रहेको छ । यसले जसपा औपचारिक रूपमा फुटको सङ्घारमा पुगेको छ ।

प्राविधिक रूपमा एउटै पार्टी भए पनि व्यावहारिक रूपमा उनीहरू फरक गतिविधिसहित अघि बढिरहेका छन् । विवाद बढ्दै जाँदा दुवै समूहले एकले अर्को समूहलाई कारबाही गर्दै अघि बढेका छन् ।

जसपाका दुई अध्यक्ष उपेन्द्र यादव र महन्थ ठाकुरले एकले–अर्कालाई पार्टीको साधारण सदस्यसमेत नरहने गरेर निष्कासन गरेका छन् । उपेन्द्र यादव पक्षले अर्का अध्यक्ष महन्थ ठाकुर, राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ललाई पार्टीको साधारण सदस्यबाटै निष्कासन गरिदिएको छ । यस्तै अध्यक्ष महन्थ ठाकुर पक्षले उपेन्द्र यादवलाई पनि साधारण सदस्यबाटै निष्कासन गरेको छ ।

दुवैले कारबाहीको जानकारी निर्वाचन आयोगलाई गराएको छ । आयोगले भने कारबाहीका लागि थप विवरण पेस गर्न माग गरेको छ ।