कोरोना रोकथामका सामग्री विना झन्झट भन्सार जाँच पास गरी आपूर्तिलाई थप सहज बनाउन निर्देशन

bishnu

जेठ ३, काठमाण्डौ,

अर्थ मन्त्री विष्णुप्रसाद पौडेलले कोरोना रोकथाम, उपचार र नियन्त्रणसँग सम्बन्धित स्वास्थ्य सामग्री, उपकरण र औषधीको भन्सार जाँच पासलाई पहिलो प्राथमिकता दिन निर्देशन दिनुभएको छ ।

भर्चुअल माध्यमबाट भएको कार्यक्रममा अर्थ मन्त्री पौडेलले भन्सार विभागका महानिर्देशक, विभिन्न भन्सार कार्यालयका प्रमुखलाई लिक्विड अक्सिजन, अक्सिजन सिलिन्डर, अक्सिजन प्लान्ट र त्यसका पार्टपुर्जा लगायतका सामग्रीको विना झन्झट भन्सार जाँच पास गरी आपूर्तिलाई थप सहज बनाउन निर्देशन दिनुभएको हो ।

पौडेलले कोरोनाको उपचारका लागि आयात भएका वस्तुको परिणाम र मूल्यसहित दैनिक रूपमा जानकारी गराउन पनि निर्देशन दिनुभयो । कार्यक्रममा अर्थ सचिव शिशिरकुमार ढुङ्गानाले कोरोना रोकथाम, नियन्त्रण र उपचारसँग सम्बन्धित सामग्रीको भन्सार जाँच पास सम्बन्धी संक्षिप्त कार्यविधि जारी गरी लागू गर्न निर्देशन दिनुभयो ।

यस्तै राजस्व सचिव रामशरण पुडासैनीले छिटो जाँच पासका लागि छिमेकी देशको भन्सार कार्यालयसँग समन्वय गरी चौबीसै घण्टा प्रभावकारी रूपमा काम गर्न निर्देशन दिनुभयो ।

कार्यक्रममा भन्सार विभागका महानिर्देशक यमलाल भुसालले अत्यावश्यक वस्तुको आपूर्तिलाई सहज बनाउन विभागले क्विक रेस्पोन्स टिम बनाएर काम गरेको जानकारी दिनुभएको थियो ।