एमाले एकता प्रयासमा तत्कालकालागि पूर्णविराम

UML-Meeting

साउन १, काठमाण्डौ,

नेकपा एमाले भित्र भइरहेको एकताको प्रयासमा तत्कालका लागि पूर्णविराम लागेको । शुक्रवार बसेको स्थायी कमिटी बैठकमा माधव नेपाल पक्षका नेताहरूले स्थायी कमिटी र संसदीय दलको दुवै बैठक स्थगित गरेर सहमतिमा नै अर्को बैठक तय गर्न अध्यक्ष केपी ओलीलाई आग्रह गरेका थिए ।

तर ओली पक्ष, नेपाल पक्षको मागमा सहमत नभएपछि नेपाल पक्ष स्थायी कमिटीबाट बाहिरिएको थियो । त्यसपछि ओली पक्षले पार्टी एकताका लागि कार्यदलले गरेको सहमतिको १० बुँदालाई एक पक्षीय रूपमा अनुमोदन गर्दै कार्यदल नै विघटन गरेपछि एकता प्रयासमा पूर्णविराम लागेको हो ।

वार्ता र एकताका लागि गठित कार्यदल नै विघटन भएपछि तत्कालका लागि एकताको सम्भावना अब टरेको नेपाल निकट नेता योगेश भट्टराईले बताउनुभएको छ । ‘वार्ता र सहमतिका लागि बनाइएको कार्यदल विघटन भयो, हामी स्थायी कमिटीमा छैनौँ, हामी बसेनौँ,’ नेता भट्टराईले भन्नुभयो ।

एमाले पार्टी एकता कायम गर्न भन्दै १० सदस्यीय कार्यदल बनाएको थियो । सो कार्यदलले २७ असारमा १० बुँदै सहमति गरेको थियो । एमाले अध्यक्ष ओलीले भने कार्यदललाई धन्यवाद दिँदै कार्यदल नै विघटन गर्नुभएको हो ।

ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा बसेको ओली पक्षका मात्रै नेताहरुको बैठकले सरकारलाई समर्थन नगर्ने र विश्वासको मत पनि नदिने निर्णय गरेको पार्टी प्रवक्ता प्रदीपकुमार ज्ञवाललीले जानकारी दिनुभयो ।