गण्डकीका २ सय ७७ सहित देशभर थप २ हजार २ सय ९७ जनामा कोरोना संक्रमण पुष्टि

corona update

असार ७, पोखरा,

सोमबार गण्डकी प्रदेशमा थप २ सय ७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पछिल्लो २४ घण्टामा गण्डकीका १ हजार ११७ जनामा गरिएको नमुना परीक्षणमा २ सय ७७ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको हो ।

थप संक्रमण पुष्टि हुनेमा कास्कीका १३५ जना सहित स्याङ्गजाका ३४, नवलपुरका ३०, तनहुँका २४ जना, लमजुङका १७ जना, पर्वतका ८ जना, बागलुङका ७ जना र म्याग्दीका ४ जना रहेका छन् । योसंगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या ५२ हजार ६ सय ९१ पुगेको छ । पछिल्लो २४ घण्टामा ६५५ जना कोरोनामुक्त भएसंगै, प्रदेशमा कोरोनामुक्त हुनेको कुल संख्या ४८ हजार ४ सय २९ पुगेको छ ।

त्यस्तै सोमबार पनि गण्डकीमा थप ६ जनाको मृत्यु पुष्टि भएको छ । थप मृत्यु पुष्टि हुनेमा कास्कीका ३ सहित लमजुङ, स्याङ्गजा र म्याग्दीका एकएक जना रहेका छन् । यो संगै गण्डकीमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ८ सय ९५ पुगेको निर्देशनालयले जनाएको छ ।
अहिले प्रदेशमा ४ हजार २ सय ६२ सक्रिय संक्रमितहरु रहेका छन् ।
यसैबिच
पछिल्लो २४ घण्टामा देशभर थप २ हजार २ सय ९७ जनामा संक्रमण पुष्टि भएको छ । जम्मा १० हजार ९ सय ४ जनाको परीक्षण गर्दा थप २,२९७ जनाको रिपोर्ट कोरोना पोजेटिभ देखिएकोे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको हो । यस्तै गएको २४ घण्टामा देशभरबाट ३ हजार १ सय ३० जना संक्रमणमुक्त भएसँगै नेपालमा कोरोना निको हुनेको कुल सङ्ख्या पाँच लाख ५९ हजार नौ सय २८ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप ४६ जना कोरोना सङ्क्रमितको ज्यान गएको छ । योसहित नेपालमा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ८ हजार ७ सय ७२ पुगेको मन्त्रालयले बताएको छ ।