अध्यादेशमार्फत बजेट ल्याएर सरकारले संविधानको उल्लङ्घन गर्यो : विपक्षी गठबन्धन

bipakxi dal

जेठ १६, काठमाण्डौ,

विपक्षी गठबन्धनको बैठकले प्रतिनिधि सभा विघटन गरी सरकारले अध्यादेशमार्फत बजेट ल्याएर संविधान उल्लङ्घन गरेको निष्कर्ष निकालेको छ । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बसेको विपक्षी गठबन्धनको बैठकले यस्तो निष्कर्ष निकालेको हो ।

बैठकमा कांग्रेस, माओवादी केन्द्र, नेकपा एमालेको खनाल–नेपाल समूह, जसपाको उपेन्द्र यादव समूह र राष्ट्रिय जनमोर्चाबीच भएको छलफलले अध्यादेशमार्फत ल्याइएको बजेट असंवैधानिक रहेको निष्कर्ष निकालेको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरेपछि सरकारले अध्यादेशमार्फत बजेट सार्वजनिक गरेको हो ।
यसैबिच
प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री केपी ओलीको कदमविरुद्ध एकजुट भएका विपक्षी दलका नेताहरुले सर्वोच्च अदालतप्रति पूर्ण भरोसा जनाएका छन् । देउवा निवासमा बसेको बैठकमा विपक्षी गठबन्धनमा रहेका पाँच दलका नेताले संविधानको संरक्षण गर्ने अधिकार सर्वोच्च अदालतको भएकाले संरक्षण हुनेमा आफूहरु विश्वस्त रहेको बताएका हुन् ।