यो वर्ष बाढीपहिरो र डुबानबाट ३० लाख घर परिवार प्रभावित हुने अनुमान

सरकारले यस वर्ष बाढी पहिरो र डुबानबाट ३० लाख घर परिवार प्रभावित हुने अनुमान गरेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा ब्यवस्थापन प्राधिकरणले पहिरोबाट साढे २ लाख घर परिवार, साढे १२ लाख बाढी, कटान, डुबानबाट र १५ लाख पानीजन्य रोग झाडापखाला, हैजाजस्ता महामारीबाट प्रभावित हुने जनाएको छ।

६ महिनाअघि सरकारले स्थापना गरेको प्राधिकरणले पहिरो, बाढी र पानीजन्य रोगबाट हुने क्षति कम भन्दा कम गर्न यस वर्ष कार्ययोजना बनाएरै काम थालेको छ। प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले वैशाख १ गते बसेको तेस्रो विपद् परिषद्को बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नुभएको निर्देशनअनुसार कार्ययोजना बनाएरै विपद् व्यवस्थापनका लागि काम गरिरहेको बताएका छन्।

यसवर्ष बाढी पहिरो र डुबानको जोखिम बढी भएकाले प्रभावित क्षेत्रका बासिन्दा आफैं सर्तक भएर जोगिनुपर्ने अवस्था रहेको उनले बताएका छन्। ‘हामीले विभिन्‍न प्रयास गरिरहेका छौँ, ३ दिनसम्मको मौसम पूर्वानुमान हुने गरेको छ, बाढीको जोखिम रहेको ठाउँको पनि कतिपय स्थानमा जानकारी गराइएको छ,’ उनले भने, ‘त्यस्ता ठाउँका स्थानीयले आफैं सचेत बनेर दिइएका सूचनामा पहुँच राखेर जोखिमबाट जोगिनुपर्ने अवस्था छ।’

जोखिम न्यूनिकरणका लागि सरकारले अहिले राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा ब्यवस्थापन प्राधिकरण स्थापना गरेर विभिन्‍न काम गरिरहेको छ। जल तथा मौसम विज्ञान विभागले बाढी पहिरोबारे जानकारी दिन ११५५ नम्बरको टोल फ्री नम्बर र एसएमएस सेवासमेत सञ्चालनमा ल्याएको छ।