हाम्रा जडिबुटीहरु र भान्छाका ओखती, खिसिटियुरी गर्ने बिषय होइनन् ।

नवीन किरण भुसाल:-

असार ७, पाेखरा / संसदमा सम्माननीय प्रधानमन्त्रीज्यूले रोगप्रतिरोधात्मक क्षमताको अभिबृद्धि र कोभिड-१९को लाक्षणिक चिकित्सामा उपयोगी हुने भान्छाका ओखती, जडिबुटी, योग र आयुर्वेद चिकित्सा विज्ञानमा वर्णित विषयसँग सम्बन्धित अभिव्यक्तिहरु सुन्दा आयुर्वेदकर्मीको नाताले खुशी लाग्यो । कोभिड-१९को व्यवस्थापनमा मानव सभ्यतासँगै पूर्विय दर्शनसँग नजिक भएर बिकसित हाम्रो मौलिक चिकित्सा पद्धती आयुर्वेदसँग सम्बन्धित बिषयमा सम्माननीय प्रधानमन्त्रीज्यूको आशय उत्कृष्ट छ ।
नेपालका झारमा पनि यार्सागुम्बा हुने कुरा भनिरहँदा लाग्यो हाम्रा जडिबुटीहरुको संरक्षण र प्रवर्द्धनमा अब बिशेष ध्यान पुग्ने छ । नेपालीको योग, व्यायाम गर्ने बानी, भान्छामा प्रयोगहुने अदुवा, बेसार लगायतका आहार, बिहारले गर्दा हाम्रो रोगप्रतिरोधात्मक क्षमता बृद्धि गराउने जीवन शैलीको कारणले कोभिड-१९ जस्ता समस्याहरुलाई सजिलै पचाई दिन सक्छौ भनिरहँदा लाग्यो सधै स्वस्थ रहन मद्दत गर्ने यति उपयोगि आयुर्वेदको विकासमा अझ विशेष ध्यान पुग्नेछ । लाग्यो अब हाम्रो ध्यान उच्च मनोबलका साथ आफ्नो प्राचिन, मौलिक र माटो सुहाउँदो चिकित्सा प्रणालीको बिकास र सुदृढिकरणमा केन्द्रित हुनेछ । तर, विभिन्न माध्यमबाट गरिएका खिसिटियुरी हेर्दा दया लागेर आयो कठै मान्यवरज्यूहरु !

हामी कतै मेडिकल कर्पोरेटहरुकै नाफामा अभ्यस्त भएर विश्व स्वास्थ्य सङ्गठनको पुच्छर समातिरहेका त छैनौं ? एलोपैथिककै साम्राज्य स्थापित गर्न सघाउने गरी आयुर्वेदलाई अवहेलना गरिराख्ने र समग्र आयुर्वेद कर्मीहरुलाई दोस्रो दर्जाका स्वास्थ्यकर्मीको कित्तामा कायम गर्न खोज्ने आशयका चिन्तनले पक्कै राम्रो सन्देश दिदैन । कोरोना भाइरस विरुद्ध लड्न आयुर्वेदका तर्फबाट प्रोटोकलहरु निर्माण भएका छन् । आयुर्वेद जडीबुटीकै सेवनबाट निको भएर गएका र योग व्यायाम गर्दा रोगसँग लड्ने क्षमता वृद्धि गरेका घटनाहरु आम सञ्चारमाध्यममा आइराखेका छन् ।

जडीबुटीको घरेलु रूपमा सही उपयोग गरेमा कोरोनालगायत जुनसुकै भाइरस विरुद्धको रोग प्रतिरोधात्मक क्षमता मानव शरीरमा बढाउन सकिने कुरा विभिन्न अनुसन्धानबाट प्रारम्भिक रुपमा आएको छ । घरायसी रुपमा सहजै पाइने गुर्जो, तुलसी, लसुन, अदुवा, असुरोको पात, बेसारलगायत स्थानीय रूपमा पाइने जडीबुटीहरु रोग प्रतिरोधात्मक शक्ति बढाउनका साथै कोभिड-१९ जस्ता समस्याहरुमा लाक्षणिक उपचारको रुपमा प्रयोग गर्न सकिन्छ । घरको आँगनमै उपलब्ध तुलसीको पातसँग असुरोको पात, थोरै बेसार मिसाएर उमालेर बिहान बेलुका एक एक कप खाने गरेमा त्यसले रोग प्रतिरोधात्मक शक्ति बढाउँछ । क्रमबद्ध रुपमा यसको जानकारी आयुर्वेद तथा बैकल्पिक चिकित्सा पद्धतीबाट कोभिड-१९ को नियन्त्रण तथा व्यवस्थापनको लागि जारी प्रोटोकलमा स्पष्ट उल्लेखित छन् । यी कुराको मनन गर्ने कि प्रधानमन्त्रीको खिसिटियुरीमा समय बिताउने ? हाम्रो भूमी प्राचीनकालदेखि नै आयुर्वेदका प्रवर्द्दक ऋषिमुनीहरुको आश्रयस्थल रहेको छ । हाम्रा गाँउ टोल र भान्छामा आयुर्वेदमा वर्णित औषधीय महत्वका जडिबुटीहरु नियमित प्रयोगको परम्परा आज पनि व्यापक रुपमा कायम रहेकै छ ।

भारतमा सरकारी तवरबाट कोभिड-१९ को नियन्त्रण तथा व्यवस्थापनका लागि अश्वगन्धा, पिप्ली, मरिच र जेठीमधुको प्रभावबारे अनुसन्धान सुरु भएका छन । साथै आयुस मन्त्रालयबाट कोरोना भाइरस विरुद्ध लड्न आयुर्वेदका तर्फबाट प्रोटोकलहरु निर्माण गरी जारि गरिएको छ ।

चीनद्वारा कोरोना भाइरस विरूद्धको लडाइ सम्बन्धी श्‍वेतपत्र जारी गर्दै ९४ प्रतिशतभन्दा बढी सङ्क्रमितहरुको उपचारमा परम्परागत औषधीहरु चलाइएको कुरा उल्लेख गरेको छ । साथै परम्परागत चिनियाँ मेडिसिन (TCM) को प्रयोगबाट ९२ प्रतिशत बिरामीलाई रोगमुक्त पारिएको जानकारी उल्लेख छ । कोरोना भाइरसबाट अति ग्रस्त हुबेइ प्रान्तमा समेत ९० प्रतिशत बिरामीमा परम्परागत उपचार पद्धति प्रभावकारी सावित भएको दावी चीनले गरिरहँदा र अन्य मुलुकहरुले पनि आ-आफ्नै स्वास्थ्य प्रणालीहरु अवलम्बन गरिरहँदा हामीले आफ्नै परम्परागत मौलिक चिकित्सा पद्धतिको खिसिटियुरीमा समय बिताउनु कत्तिको जायज हो विचार गरौ ? बिरोधका लागि बिरोध गर्न सकिएला प्रधानमन्त्रीज्यूले बोलेका कुराहरु मनोबल बढाऔ, जडिबुटीहरुको सेवन गरौ, बेसारको पनि साइड इफेक्ट हुनसक्छ विचार गरेर प्रयोग गरौ भन्दा किन रोइलो ? प्रधानमन्त्रीज्यूको आशय उत्कृष्ट छ । बरु हामीले के कुरा बिर्सिनु हुँदैन भने हाम्रा पूर्विय दर्शन, परम्परागत ज्ञान, सिप र धरोहरहरु कतै ध्वस्त पार्ने खेल त हुँदैछैन ! यस विषयमा सचेत हुन जरुरी छ ।