असार ७, नेपालमा पछिल्लो २४ घण्टामा ४ सय २१ जनामा कोरोना भाइरस को संक्रमण पुष्टि भएको छ ।
यससँगै कुल संक्रमितको संख्या ९ हजार २६ पुगेको छ । उनीहरूमध्ये २३ जनाको मृत्यु भएको छ भने १ हजार ७ सय ७२ जना डिस्चार्ज भएका छन् । पछिल्लो २४ घण्टामा १ सय ९४ जना डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
संक्रमित कहाँ–कहाँ थपिए ?
मन्त्रालयका अनुसार सबैभन्दा धेरै अर्घाखाँचीमा ७४ जना संक्रमित थपिएका छन् । सिराहाका ५२ जना, डडेलधुराका ४१ जना, डोटी र कैलालीका २७/२७ जना, कपिलवस्तुका २५ जना, बाग्लुङका २३, नवलपरासीका २२, प्युठानका २० जना तथा स्याङ्जा र दाङका १०/१० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यसैगरी, धनुषाका ८ जना, गुल्मीका ७, झापा र सल्यानका ६/६ जना, उदयपुर, सर्लाहीका ५/५ जना, पाल्पा, म्याग्दी, तनहुँ र रोल्पा ४/४ जना, बारा र बर्दियाका ३/३ जना, मोरङ, सुनसरी, महोत्तरी, सप्तरी, सुर्खेत, अछाम, बैतडी, बझाङ, रुपन्देही, नवलपुर र पर्वतका २/२ मा संक्रमण पुष्टि भएको छ । यस्तै, ललितपुरसहित नुवाकोट, रामेछाप, कास्की, मुस्ताङ, बाँके, दैलेख र कञ्चनपुरमा १/१ जना कोरोना संक्रमित थपिएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।