४० घर परिवारलाई पोखरा वडा न.१ द्धारा स्वास्थ्य बिमा

पोखरा २९ चैत ।

पोखरा महानगरपालिका वडा नम्वर १ ले वडाभित्र रहेका विपन्न, असाहाय नागरिकहरुलाई स्वास्थ्य बिमा कार्ड वितरण गरेको छ ।

वडाले विपन्न, असक्त र असहाय नागरिकको स्वाथ्य बिमाका लागि विनियोजन गरेको १ लाख रुपैयाँबाट वडाभित्रका ४० घर परिवारलाई २५ सय रुपैयाँको स्वाथ्य बिमामा विमित गरिएको वडा अध्यक्ष शारदाकुमारी पराजुलीले जानकारी दिइन् ।

‘विपन्न परिवारको स्वास्थ्य बिमा गर्ने कार्यक्रम अन्र्तगत वडाले विनियोजन गरेको बजेटबाट स्वास्थ्य विमा गरेर कार्ड वितरण गरेका छौ ।’ एक जनाको कार्डबाट परिवारका पाँच जनाले ५० हजार रुपैयाँ बराबरको उपचार गर्न पाउने छन् । वडाले गरेको स्वास्थ्य बिमा कार्यक्रमबाट दुई सय जना लाभाविन्त हुने छन् ।

वडाका लक्षित नागरीक स्वास्थ्य बिमा कार्यक्रम अन्र्तगत बिमा गरिएकाहरुलाई शुक्रबार कार्ड वितरण गरिएको छ । पोखरा महागरनपालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङले कार्ड वितरण गरेकी हुन् । कार्यक्रममा बोल्दै उनले महानगरपालिकाले एक वडा एक स्वास्थ्य केन्द्र स्थापना कार्यक्रम ल्याएको बताउदै नागरीक स्वास्थ्यप्रति सचेत रहेको बताइन् ।


उनले अहिलेको प्रमुख आवश्यकता शिक्षा, स्वास्थ्य र रोजगारी रहेको बताउदै महागरनले त्यसलाई प्राथमिकतामा राख्दै त्यही अनुसार ऐन, नियम बनाएको बताइन् । उनले नागरिकको स्वास्थ्यलाई ध्यान दिदै शहरी स्वास्थ्य प्रवद्र्धन केन्द्र समेत सञ्चालनमा ल्याएको जानकारी दिदै विरामी भएपछि मात्रै उपचार गर्ने भन्दा नियमित स्वास्थ्य परिक्षण गरेर रोग लाग्न नदिने अवस्था सृजना गर्नुपर्नेमा जोड दिइन् ।


पोखरा महानगर स्वास्थ्य महाशाखा प्रमुख हेमन्त शर्मा पौडेलले सरकारले ल्याएको स्वास्थ्य बिमा कार्यक्रम मार्फत उपलब्ध सुविधाको उपयोग गर्न आग्रह गरे । उनले नियमित स्वास्थ्य परिक्षण गर्न समेत आग्रह गरे । स्वास्थ्य बिमा बोर्ड गण्डकीका संयोजक जीवराज खरेलले कुनै पनि नागरिक स्वास्थ्य उपचारबाट बञ्चित हुन नपरोस भन्ने उद्देश्यले सरकारले कार्यक्रम ल्याएको बताए ।

उनले ४२ जिल्लामा कार्यक्रम संञ्चालन भैरहेको र कास्कीमा १ लाख ३ हजारले स्वास्थ्य बिमा गराएको जानकारी दिए । वडा नम्वर १ का अध्यक्ष शारदा कुमारी पराजुलीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत वडा सदस्य प्रेमकुमारी परियार र सञ्चालन वडा सचिव कुलराज पौडेलले गरेका थिए ।