कोरोना विरुद्ध विश्वमा नै अग्रपंक्तिमा रहेर काम गर्ने ५ महिलामा नेपालकी डा रुना झा पनि परिन्।

बैशाख २१, काठमाडौं कोरोना भाइरस (कोभिड १९) को उपचारमा सक्रियरुपमा अग्रपंक्तिमा देखिएका पाँच महिलाको सूचीमा केन्द्रीय प्रयोगशालाकी निर्देशक डा रुना झा पनि छनोटमा पर्न सफल भएकी छन् ।

युएन ओमनले कोरोना भाइरसको अग्रपंक्तिमा खटिइरहेका विश्वका पाँच महिलाको सूची अन्तर्गत जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा। रुना झालाई समावेश गरेका छन् । कोरोना भाइरसले विश्व समुदायलाई त्रसित बनाइरहेको छ ।

२ लाख बढिले ज्यान गुमाइसकेका छन् भने ३४ लाख बढी संक्रमित छन् । यसको न्यूनीकरण र संक्रमितको उपचारमा विश्वभर लाखौं चिकित्सक खटिएका छन् । अहिलेको समयमा घर, परिवार र भाइरसको जोखिमको परवाह नगरिकन खटिएका चिकित्सकबाट झण्डै २ लाख निको भएर घर फर्किसकेका छन् ।

त्रास यतिसम्म छ कि सामान्यतया स्वास्थ्यकर्मी पनि संक्रमित व्यक्तिको उपचार गर्न त्यति सहजै तयार हुन सक्ने हिम्मत गर्दैनन् । चीनमा कोरोनाकै कारण स्वास्थ्यकर्मीको निधन समेत भएको खबर सार्वजनिक भएको थियो । कुनै पनि व्यक्तिमा कोरोना भाइरसको संक्रमण छ कि छैन भनेर स्वास्थ्यकर्मीले प्रयोगशाला ९ल्याब० मा ती व्यक्तिबाट संकलित नमूना परीक्षण गर्नुपर्छ ।

ल्याब परीक्षण विना कोरोना भाइरसबारे यकिन हुँदैन । हाल नेपालमा कोरोना भाइरस भए नभएको यकिन गर्ने विश्वासिलो स्थान बनेको छ – राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं । त्यो ल्याबको नेतृत्वमा छिन, महिला चिकित्सक डा। रुना झा । उनै झा अहिले विश्वका पाँच महिलाको सूचीमा समावेश भएकी छन् । चीनको वुहान प्रान्तबाट उद्धार गरिएका १ सय ७५ जना नेपालीसहित अन्य व्यक्तिको स्वास्थ्य नमूना परीक्षण झाकै नेतृत्वको ल्याबमा भएको थियो ।

त्यसयता, हरेक दिन ७० भन्दा बढी स्वाबको परीक्षण झा नेतृत्वको टोलीले गर्दै आएको छ । धनुषाको हंशपुर नगरपालिकाको बघचौरा गाउँका धनञ्जय झाकी छोरी हुन् डा। रुना झा । पाकिस्तानबाट एमबीबीएस र नेपालकै इन्स्टिच्यूट अफ मेडिसिनबाट प्याथोलोजीमा एमडी गरेकी उनले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा लामो समय प्राध्यापन गरिन् ।

साढे ४ वर्षअघि स्वास्थ्य मन्त्रालयमा निजामती सेवाको परीक्षा उत्तीर्ण गरेर ११ औं तहमा नियुक्त भएकी थिइन् उनी । विगत १० महिनादेखि उनी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको निर्देशक पदमा कार्यरत रहेर संस्थाको ‘हाकिम’को भूमिका सम्हालिरहेकी छन् । उत्कृष्ट पाँचमा पर्ने अन्य महिलामा संयुक्त राष्ट्रसंघका फिल्ड एसिसटेन्टद्वय अमल अल महायरा र और हादेल दाबिबेह छन् । उनीहरु जोर्डनमा कार्यरत छन् ।

दुवैजना जोर्डनका संक्रमित महिला र सिरियाका शरणार्थीहरुको सेवामा सक्रिय छन् । यस्तै सूचीमा पर्ने अर्की महिला चीनकी यान सेंगलियान हुन् । उनी चीनको ग्रामीण क्षेत्रमा रहेर स्वास्थ्योपचारमा संलग्न छिन् ।

उत्कृष्टको सूचीमा पर्ने अर्की महिला कजाकस्तानकी दिना स्माइलोबा क्वारेन्टाइनमा रहेका व्यक्तिहरुको सेवामा खटिएकी छिन् भने अर्की रियान्सिया हेनरी क्यारेबियन मुलुक एन्टिगुवा एन्ड बर्मुडामा कार्यरत रहेको युएनओमनले जनाएको छ ।