चैते दशैँ आज, कोरोनाका कारण शक्तिपिठमा हुने पुजा स्थगित

चैत्र १९ पोखरा

आज वुधबार चैते दशैँ पर्व मनाइँदै छ । विभिन्न शक्ति पीठहरुमा आज बिहानैदेखि घुइँचो लाग्ने भएपनि कोभिड–१९ (कोरोना) भाईरसका कारण यो वर्ष भने भिड देख्न नपाईने भएको हो । असुर शक्तिमाथि दैवी शक्तिको विजय तथा असत्यमाथि सत्यको जितको रुपमा लिइने दशैं वर्षमा दुईपटक मनाउने गरिन्छ । असोजमा मनाइने दशैंलाई बडादशैंको रुपमा मनाइन्छ भने चैत शुक्ल अष्टमीमा चैते दशैंको रुपमा मनाइन्छ । वर्षको दुई पटक चैत र असोजमा गरिने दुर्गापूजाको विशेष महत्व रहेको शास्त्रमा उल्लेख छ । रामनवमी पर्व भने भोली मनाईंदैछ । असत्यमा सत्यको विजय तथा भगवान श्रीरामको सम्झनामा मनाइने रामनवमी पर्वका अवसरमा राम मन्दिरहरुमा पूजापाठ गरिन्छ ।

अघिल्लो वर्षहरुमा चैते दशैंको दिन पोखरा सहितका विभिन्न जिल्लाका शक्तिपीठहरुमा बिहानैदेखि दर्शनार्थीको घुइँचो लाग्ने गरेको थियोे । यो वर्ष भने कोभिड–१९ (कोरोना) भाईरसका कारण सरकारले लकडाउन घोषणा गरेपछि शक्तिपीठमा हुने पुजा, दर्शन लगाएतका विभिन्न कार्यक्रम स्थागित गरिएको छ । वडा दशैँमा जस्तै चैते दशैँमा पनि मान्यजनकोमा टिका थाप्ने एकआपसमा भेला भएर रमाईलो गर्ने चलन छ । तर यो वर्ष भने परिवारमै वसेर टिका थाप्ने र रमाईलो गर्ने गरे पनि घर वाहिर गएर टिका थाप्ने आपसमा भेला गर्न नमिल्ने जिल्ला प्रसासन कार्यालय स्याङ्जाले जनाएको छ । आजको चैते दशैँमा कोरोनाका कारण देशकै विभिन्न सहरबाट र विदेशबाट गाउँ फर्किएकाहरुको जमघटले घरकोे महोल भने वडा दशैमा जस्तै बनाउन सकिने छ ।