गण्डकी प्रदेश सरकारद्वारा विपन्नलाई राहत दिन साढे ६ करोड बजेट निकासा


चैत्र १९ पोखरा
गण्डकी प्रदेश सरकारले कोभिड–१९ को जोखिम न्यूनीकरण गर्न जारी लकडाउनका कारणले प्रभावित बनेका ज्यालादारीमा काम गर्ने मजदूरलगायतलाई राहत दिन ८५ वटै पालिकामा बजेट निकासा गर्ने भएको छ ।
प्रदेश सरकार मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले लकडाउनका कारणले दैनिक गुजारा चलाउन नसकेका नागरिकलाई राहत दिन स्थानीय तहमा रकम पठाउने निर्णय गरेको सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतले बताए ।
सरकारले पोखरा महानगरपालिकालाई रु एक करोड, २६ नगरपालिकालाई प्रतिनगरपालिका रु १० लाख तथा ५८ वटा गाउँपालिकालाई रु पाँच लाखका दरले कूल रु छ करोड ५० लाख रकम निकासा गर्ने निर्णय गरिएको उनले जानकारी दिए । विनियोजित रकम स्थानीय तहले मापदण्ड बनाएर दैनिक गुजारा चलाउन नसकेका परिवारको तथ्याङ्कका आधारमा वडा कार्यालयमार्फत जिन्सी राहत प्याकेज उपलब्ध गराउने बताइन्छ । सरकारले राहत दिन सकभर स्थानीय उत्पादनलाई प्राथमिकता दिन आग्रह गरेको छ ।
राहत वितरणको सम्बन्धित जिल्लाका प्रदेशसभा सदस्यको सहभागितमा सरकारले गठन गरेको जिल्लास्तरीय अनुगमन समितिले अनुगमन गर्ने भएको छ । चैत १५ गतेको मन्त्रिपरिषद् बैठकले असहज अवस्थामा समेत गाउँगाउँसम्म खाद्यान्न आपूर्ति तथा वितरणमा सघाउने, अत्यावश्कीय वस्तुको आपूर्ति, मूल्य र गुणस्तर कायम गर्नका लागि प्रदेश, जिल्ला तथा स्थानीय तहस्तरीय आपूर्ति समिति गठन गर्ने निर्णय गरेको थियो ।
प्रदेशस्तरीय आपूर्ति तथा अनुगमन समितिले लकडाउनको मारमा परेका सडक बालबालिका, दैनिक ज्यालामा काम गर्ने मजदूर, क्वारेन्टाइनमा बसेका र आर्थिकरुपमा आफैँ किनेर खाने क्षमता नभएकाहरुलाई राहत प्याकेज ल्याउने घोषणा गरेको थियो ।