काँग्रेस कोषाध्यक्षहरुको राष्ट्रिय सम्मेलन आज पोखरामा

चैत्र २८, पोखरा ।

नेपाली काँग्रेसका जिल्ला कोषाध्यक्षहरुको तेस्रो राष्ट्रिय सम्मेलन आजदेखि पोखरामा सुरु हुदै छ । नेपाली काँग्रेस जिल्ला कोषाध्यक्षहरुको राष्ट्रिय कार्यसमितिले पोखरामा हुने सम्मेलनको तयारी पूरा भएको जनाएको छ । सम्मेलन आज र भोलि पोखरामा हुने छ ।

सम्मेलनको उद्घाटनसत्र आज पोखरा सभागृहमा हुनेछ । उद्घाटन सत्रलाई पार्टीका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, बरिष्ठ नेता रामचन्द्र पौडेल सहित शिर्ष नेताहरुले सम्वोधन गर्ने छन् ।

सम्मेलनलाई लक्षित गरी पोखराको न्युरोडलाई पार्टीको तारा तारे झण्डाले सिगाँरिएको छ भने पोखराका मुख्य शहरी क्षेत्रमा स्वागत व्यानरहरु टाँगिएको छ । पार्टीलाई चलायमान र सुदृढिकरण बनाउने उदेश्यले सम्मेलन गर्न लागिएको नेपाली काँग्रेस जिल्ला कोषाध्यक्षहरुको राष्ट्रिय कार्यसमितिका अध्यक्ष गोविन्द पुडासैनीले बताए ।

उनले सम्मेलनले पार्टीलाई गुट उपगुट अन्त्य गरी एक ढिक्काका साथ अघि बढ्न दबाबमूलक सुझाव दिने उल्लेख गरे । पार्टीको मुख्य समस्या भनेकै गुट/उपगुट हो अध्यक्ष पुडासैनीले भने – ‘स्थानीयदेखि केन्द्रसम्म गुट÷उपगुट अन्त्य गर्न जरुरी छ।’ सम्मेलनले विदेश पलायन युवाहरुलाई स्वदेशमा नै रोजगारीको व्यवस्था गर्न सरकारलाई दबाब दिने र भातृ तथा शुभेच्छुक संस्थालाई महाधिवेशनमार्फत अघि बढाउन पार्टीलाई दबाब दिने बताइएको छ ।

त्यस्तै, सम्मेलनले सरकारका गतिविधि चित्तबुझ्दो नभएकाले देशव्यापी विरोधका कार्यक्रम संचालन गर्नका लागि केन्द्रलाई आग्रह समेत गर्ने र कास्की क्षेत्र नं २ सहित रिक्त स्थानमा निर्वाचन गराउन सरकारलाई दबाव दिने छ ।

नेपाली काँगेस कास्कीका सभापति कृष्ण केसीले सम्मेलनलाई सभ्य र भव्य बनाउनका लागि कास्की काँग्रेसले सहयोग गर्ने बताए ।

कार्यक्रममा नेपाली काँग्रेस जिल्ला कोषाध्यक्षहरुको राष्ट्रिय कार्यसमितिका महासचिव लक्ष्मी पाण्डे, सदस्य रेशम गुरुङ, रमेश पाण्डे र प्रेस युनियन कास्कीका अध्यक्ष नवीन सिग्देल लगायतले सम्मेलन बारे बोलेका थिए ।