दुर्घटनामा पोख्रेली संगीतकर्मी श्रीमान् थुलुङको निधन

चैत्र २८, पोखरा ।

संगीतकर्मी श्रीमान् (थुलुङ) राईको दुर्घटनामा ज्यान गएको छ । बुधवार राती करिब साढे ९ बजे पोखरा १२ शितलादेवीमा भएको दुर्घटनामा उनको ज्यान गएको कास्की प्रहरीले जनाएको छ ।

थुलुङ सवार ग१२प ६७९ नम्बरको स्कुटर पर्खालको रेलिङमा ठोक्किएको थियो । स्कुटर दुर्घटनापछि उनी नहरमा खसेको र पानीको भेल ठूलो भएकाले बगाएको बताइएको छ । साढे ९ बजे नहरमा खसेका उनी करिब एक घण्टा पछि साढे १० बजे दुईकुलाको मुहानमा भेटिएका थिए ।

उनलाई तत्काल उपचारका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगिएपनि चिकित्सकले मृत घोषणा गरे । स्कुटरमा सँगै रहेकी उनकी श्रीमति भने सकुशल छिन् ।

५० बर्षीय थुलुङको निधनपछि उनको परिवार सहित समग्र पोखरेली संगीतकर्मीहरु शोकमा छन् । झण्डै दुई दशक अघि पोखरा छिरेका थुलुङले तराना म्युजिक सेन्टर नामक संगीत प्रशिक्षण केन्द्र सञ्चालन गरेका थिए ।