खहरे आमा समुहको छैटौं साधारण सभा सम्पन्न

पोखरा ।

पोखरा महानगरपालिका वडा नं. ६ बैदाम, खहरेमा रहेको खहरे आमा समूहको छैटौं साधारण सभा बुधबार खहरे बहुउद्देशीय भवनमा सम्पन्न भयो ।

साधारण सभाको प्रमुख आमन्त्रित व्यक्तित्व महानगरपालिका वडा नं. ६ का वडाध्यक्ष जगत पहारीले कार्यक्रमको उद्घाटन गर्दै खहरे आमा समूहले फेवातालको नियमित सरसफाई गर्ने, वृक्षारोपण र संरक्षण, अन्यायमा परेकालाई सहयोग तथा अन्य हरेक कार्यमा सकृयता देखाएर उत्कृष्ट आमा समूहको रुपमा स्थापित गर्न सफल भएको वताए ।

उनले छोटै समयमा आफ्ना कामले सबैको मन जित्न सफल भएको हुनाले वडाले पनि यथासक्य सहयोग गर्ने आश्वासन दिएका थिए । साधारण सभामा खहरे आमा समूहका सल्लाहकार प्रेमराज पहारी, साधारण सदस्य सरीता थापाले शुभकामना दिएका थिए ।

समूहकी अध्यक्ष मैया थापा भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष अन्जना पहारी र संचालन सचिव भागिरथी थापाले गरेकी थिइन ।