गणेशमानको शालिकमा विद्याको माल्यार्पण ः भनिन् समाजवादको सपना हामी पूरा गर्छौं

पोखरा

कास्की निर्वाचन क्षेत्र नम्बर २ की नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उम्मेद्वार विद्या भट्टराई अधिकारीले लौह पुरुष गणेशमान सिंहको शालिकमा माल्यार्पणगरी सोमबारको चुनावी घरदैलो शुरु गरेकी छन् ।

स्वर्गिय रबिन्द्र अधिकारीको उत्तराधिकारी बनेर चुनावमा होमिएकी रबिन्द्र पत्नी विद्याले २०४६ सालको जनआन्दोलनका सबोच्च कमाण्डरको शालिक रहेको गणेशटोलमा पुगेर शालिकमा माल्यार्पण गरी सोमबारको चुनावी घरदैलो शुरु गरेकी हुन् । समाजवादसम्म पुग्ने गणेशमानको सपना अब कम्युनिष्ट सरकारले पूरा गर्न लागेकाले उनको शालिकमा माल्यार्पण गरेर चुनावी घरदैलो शुरु गरेको नेकपाकी उम्मेद्वार विद्या भट्टराई अधिकारीले बताएकी छन् ।

सदाझैं घरदैलो गरिरहेकी विद्याले सोमबार विहान रामकृष्णटोल, गणेशटोल, २६ कुरियालगायतका क्षेत्रमा घरदैलो गरिसकेकी छन् । घरदैलोका क्रममा विद्याले ९५ वर्षिया मनकर्मी च्वाईं र ८६ वर्षिय केदार बजिमयको आशिर्वाद लिइन् । आशिर्वाद लिने क्रममा ९५ वर्षिया च्वाईंले बृद्धबृद्धालाई सहज रुपमा बाँच्न सक्ने वातावरण बनाउने र भत्ता दिने नेकपा भएको भन्दै नेकपाकी उम्मेद्वार विद्यालाई भोट दिने बाचा गरे । उनीहरुले अरुले भोट हाल्दा दायाँबायाँ गर्न सक्ने भएकाले बृद्धबृद्धालाई भत्ता दिने पार्टी नेकपालाई आफै गएर भोट दिने र अरुलाई नेकपाको चुनाव चिन्ह सूर्यमा मतदान गर्ने बताएका थिए ।

चुनावी घरदैलोका क्रममा विद्याले रबिन्द्रको झल्को दिनेगरी रबिन्द्रकै शैलीमा हात उठाएर अभिवादन गर्ने गरेकी छन् भने उनले जनताको आकांक्षा र रबिन्द्रको अधुरा सपना पूरा गर्ने प्रतिबद्धता जनाउँदै आएकी छन् । विद्या अहिले बागलुङ बसपार्क तल्लो क्षेत्रमा घरदैलोमा छिन् भने सोमबारै फिर्के, सिद्धार्थचोक, चिप्लेढुंगाहुँदै गैह्रापाटनसम्म घरदैलो गर्ने कार्यक्रम रहेको चुनाव प्रचार समितिका संयोजक त्रिभूवन पौडेलले जानकारी दिए ।