पोखरा १५ मा नेकपाको चुनावी अभियान तीब्र, टोल टोलमा प्रचारका लागि कमिट गठन

पोखरा २५ कार्तिक ।

मंसिर १४ गते हुने उपनिर्वाचनका लागि नेकपाको चुनावी अभियान पोखराको वडा नं १५ पनि जारी छ । अभियान अन्र्तगत सोमबार वडा भित्रका ३ वटा टोलमा समन्वय तथा प्रचारप्रसार समिति गठन गरिएको छ ।

गलेश्वर, गैरीगाउँ, र शिवशक्ति टोलमा प्रेम बहादुर खत्रीको संयोजकत्वमा प्रचार–प्रसार तथा घरदैलो समिति गठन गरिएको नेकपा वडा नं १५ कमिटिका अध्यक्ष भक्तबहादुर खत्रीले जानकारी दिए । समिति गठनसंगै कोणसभा समेत सम्पन्न भएको छ । सभालाई सम्बोधन गर्दै नेकपा कास्कीका सचिव एवं वडा नं १५ का चुनाव प्रचारप्रसार संयोजक बखान सिंह तमुले समृद्धिको सपना साकार पार्ने अभियानमा सहयोग गर्न विद्या भट्टराईलाई अत्यधिक बहुमतले विजयी गराउन आग्रह गरे ।

उनले पोखराको विकासमा रविन्द्र अधिकारीको अतुलनीय योगदान रहेको स्मरण गरे । टोल समन्वय तथा प्रचार कमिटिले घरघरमा पुगेर नेकपा उम्मेद्वारको पक्षमा मतदानका लागि अपिल गर्ने उनले जानकारी दिए । वडा भित्रका सबै टोलमा प्रचार प्रसारको काम तीब्र पारिएको उनको भनाई थियो ।

सभामा पोखरा महानगरपालिका वडा नं १५ का अध्यक्ष प्रकाश पौडेलले वडामा भएगरेका विकास निर्माणका काममा रविन्द्रको योगदान भुल्न नसकिने बताए । कार्यक्रम गलेश्वर यूवा क्लबका अध्यक्ष आशिष भण्डारीको अध्यक्षतामा भएको थियो । सभामा टोलबासीहरुको उत्साहपूर्ण सहभागिता थियो ।