अप्रेशन गरेपछि छ्याङ्गै आँखा देख्न पाउँदा म्याग्दीका वृद्धवद्धामा खुशी

चैत, २१ म्याग्दी ।
यसै त उराठ र पट्यारलाग्दो बुढ्यौली, त्यसमा पनि आँखाले देख्न छोडेपछि घरको चौघेराभित्र कैद भएर बस्नु पर्दाको पीडा कम दुःखदायी हुँदैन । यस्तै, दुःख र पीडामा थिइन् म्याग्दीको रघुगङ्गा गाउँपालिकाको कुइनेमंगलेकी ७१ वर्षीया सश्रुङ्गा छन्त्याल ।

दुर्गम कुइेमंगलेबाट दुई दिनको समय लगाएर मोतिया बिन्दुको शल्यक्रियाका लागि शिविरमा आएकी ७१ वर्षीया छन्त्यालले बुढेसकालमा छर्लङ्ग आँखा देख्न पाएकामा खुशी व्यक्त गरे । “विगत तीन वर्षदेखि दुइवटै आँखा राम्रोसँग देख्दिँनथें,” छन्त्यालले भने – “अप्रेशन गरेपछि त छ्याङ्गै देख्ने भएँ ।”

निकै कष्टपूर्ण तरीकाले तीन वर्ष बिताएको निउरेको दैनिकीमा अब भने परिवर्तन आएको छ । दैनिकीमा परिवर्तन आएसँगै उनको अनुहारमा मुस्कान र मनमा खुशी पनि फर्किएको छ । उनी पुनः आँखा देख्नसक्ने भएकी छिन् । यो खुशी उनले म्याग्दीको सदरमुकाम बेनीबजारमा गत साता सम्पन्न तीन दिने निःशुल्क आँखा शिविरबाट प्राप्त गरेकि हुन्।

‘हामी नेपाली’ काठमाडौँको आयोजना, नेपाल आँखा अस्पताल, त्रिपुरेश्वर काठमाडौँको प्राविधिक सहयोग, बेनीका विभिन्न लायन्स क्लब, नेपाल रेडक्रस सोसाइटी म्याग्दी र आर्ट फाउण्डेसन काठमाडौँको व्यवस्थापनमा सम्पन्न निःशुल्क आँखा शिविरबाट १ हजार ६ सय जनाभन्दा बढी आँखाका बिरामीहरु लाभान्वित भएका छन् । ती मध्ये २०० भन्दा बढी बिरामीहरु ७० वर्ष पार गरेकाहरु थिए । शिविरमा ८२ जना मोतियाबिन्दु भएका बिरामीहरुको निःशुल्क शल्यक्रियासमेत गरिएको थियो ।

तीन वर्ष पछि आफ्ना आफन्त र उज्यालो संसार देख्न पाएपछि छन्त्यालले खुशी हुँदै भने – “यो उमेरमा पनि मैले अर्को जन्म पाएँ ।”छन्त्याल जस्तै बेनी नगरपालिका–५ पुलाचौरकी ५२ वर्षीया मना परियार, मंगला गाउँपालिका २ मिठौलाकी ७२ वर्षीया मैती किसान लगायतले नयाँ दृष्टि पाएकि छिन् । आँखाको शल्यक्रिया लगत्तै नजीकै रहेका आफन्तसँग हाँसो साटेपछि चिकित्सक र स्वास्थ्यकर्मीसमेत दङ्ग परेका थिए ।

आँखा देख्ने भएपछि ७० वसन्त पार गरेका वृद्धवृद्धाहरुले चिकित्सकहरुलाई ‘भगवानको रुप’ भनेर प्रशंसा गरेका थिए । बेनी नगरपालिका–५ पुलाचौरकी ५२ वर्षीया मना परियारले १३ वर्षपछि आफूले पूर्ण रुपमा आँखा देखेको बताए । परियारले भने – “उनीहरु ९चिकित्सक० भगवानकै रुप बनेर आए । म १३ वर्षपछि पूर्णरुपले आँखा देख्न सक्ने भएँ ।”

त्यसैगरी, मंगला गाउँपालिका–२ मिठौलाकी ७२ वर्षीया मैती किसान विगत सात वर्षदेखि मोतियाबिन्दुका कारण अँध्यारो जिन्दगी बाँचिरहेकी थिइन् । अहिले आँखा देख्ने भएपछि चिकित्सक र शिविर आयोजकलाई ‘मेरा लागि त देउतै आए’ भनेर उनले आशिक समेत दिए ।

बुढ्यौलीका कारणले आँखाको दृष्टि कमजोर भएका कयौं बिरामीहरुले पनि चश्मा पाएपछि पहिलाको भन्दा राम्रो देख्न थालेको प्रतिक्रिया दिए ।“बन्द भएको आँखा खोल्ने डाक्टर भगवान् हुन्, उनीहरूलाई सधैं राम्रो हुन्छ,” शल्यक्रियामा संलग्न चिकित्सकहरूलाई आर्शिवाद दिँदैं ७९ वर्षीया धनमती परियारले भने ।

म्याग्दीमा पछिल्लो समय विभिन्न सङ्घसंस्था र व्यक्तिहरुले निःशुल्क स्वास्थ्य शिविर आयोजना गर्ने क्रम बढेसँगै स्थानीय वृद्धवृद्धा र विपन्न व्यक्तिहरु लाभान्वित भएका छन् । गत फागनुमा म्याग्दी पोखरा चौतारीको आयोजना, ज्यामरुककोट समाज नेपाल र बेनी नगरपालिका–२ वडा कार्यालयको सहआयोजनामा ज्यामरुककोटका भकुण्डेमा सम्पन्न विशेषज्ञ चिकित्सकसहितको बृहत् निःशुल्क स्वास्थ्य शिविरबाट ६१५ जना लाभान्वित भएका थिए ।

शिविरमा ४१८ जना महिला र १८७ जना पुरुषले स्वास्थ्य जाँच गराएका थिए । तीमध्ये २०७ जना बिरामीले विशेषज्ञ चिकित्सकहरुबाट उपचार र सल्लाह प्राप्त गरेका शिविरका संयोजक गोपाल घिमिरेले जानकारी दिए ।

संयोजक घिमिरेका अनुसार २७ जना बिरामीहरुलाई पोखरामा नै बोलाएर उपचार गरिएको छ । शिविरमा गौश्वारा, विमिराबोट, तमाने, भकुण्डे, फापरखेत, खवरा, बगरफाँट लगायत बाग्लुङ जिल्लाको चनौटे, पन्चासे र मालिकाबाट समेत बिरामीहरु आएका शिविरको सहआयोजक संस्था ज्यामरुककोट समाज नेपाल काठमाडौँका अध्यक्ष रामबहादुर कार्कीले बताए ।

वर्षौदेखि पाठेघरको समस्याबाट पीडित जमुना घिमिरे स्त्रीरोग विशेषज्ञ डा ।छममाया पुनबाट पाएको सल्लाहले सन्तुष्ट देखिन्छन् । घिमिरेले भने – “यति राम्रोसँग पहिला कसैले पनि जाँच गरेका थिएनन् ।”म्याग्दीमा एक वर्षको अवधिमा १४ वटा निशुल्क स्वास्थ्य शिविरहरु सम्पन्न भएको छन् ।रासस