बागलुङमा मर्मतकै बेला भत्कियो विद्यालय

चैत्र २२ , बागलुङ ।काठेखोला गाउँपालिका–५ बिहुँस्थित नवयुवक आधारभूत विद्यालयको दुईकोठे भवन मर्मतकै बेला भत्किएको छ । पुरानो जस्ताको छानो फेर्ने क्रममा भवन भत्किएको विद्यालयका प्रधानाध्यापक देवनारायण सापकोटाले बताए । गाउँपालिकाले छुट्याएको एक लाख बजेटबाट मङ्गलबारदेखि मर्मतको काम शुरु भएको थियो ।

विसं २०४२ मा निर्मित भवन भूकम्पमा चर्किएको थियो । ढुङ्गा, माटो र काठले बनेको भवन जीर्ण भएका कारण भत्केको प्रध्यानाध्यायापक सापकोटाको भनाइ छ । “जस्ताको छानो थोत्रिएपछि नयाँ फेर्ने काम हुँदै थियो”, उनले भने, “एक्कासी भवन नै ढल्यो ।”

सोमबार रातिको हावाहुरीले पनि भवनमा प्रयोग भएका पुराना काठ भाँचिएका थिए । उक्त दुईकोठे भवनमा कक्षा १ र २ को पढाइ हुँदै आएको थियो । नयाँ शैक्षिकसत्र शुरु हुनैलाग्दा विद्यालय भवननै भत्केपछि विद्यार्थीलाई कहाँ पढाउने भन्ने चिन्ता विद्यालयलाई छ । तत्काल नयाँ भवन बनाउन बजेट नभएको र गाउँपालिकाले छुट्याएको मर्मतको बजेट अपुग हुने देखिएको छ ।

विसं २०७२ को भूकम्पले विद्यालय चर्किएपछि पुनःनिर्माणका लागि माग गरे पनि सम्बन्धित निकायबाट सुनुवाइ हुननसकेको विद्यालयको गुनासो छ । विद्यालय व्यवस्थापन समितिले क्षतिको जानकारी गराउँदै नयाँ भवनका लागि गाउँपालिकासँग बजेट पनि माग गरेको छ ।

वडाध्यक्ष शिव कँडेलले आगामी गाउँसभाबाट बजेट पार्न पहल गर्ने बताए । “कार्यपालिकाको बैठकमा पनि कुरा उठाउँछु”, उनले भने, “वडामा ठूलो बजेट नहुने हुँदा गाउँपालिका या माथिल्लो निकायबाट सम्बोधन होस् भन्ने हाम्रो माग छ ।”

प्राविधिक खटाएर क्षतिको यथार्थ विवरण सङ्कलन गरिने र भवन पुनःनिर्माणमा सक्दो सहयोग गर्ने गाउँपालिकाले जनाएको छ । कक्षा ८ सम्म पढाइ हुने उक्त विद्यालयमा १७० विद्यार्थी छन् । चार मात्र दरबन्दी रहेको विद्यालयमा सात निजी स्रोतका शिक्षक छन् । भौतिक पूर्वाधारदेखि शैक्षिक गुणस्तर सुधारमा स्थानीयवासीको पनि ठूलो लगानी विद्यालयमा परेको छ । रासस