दाउफिन्स सेमिफाइनलमा

इटहरी–  दुहवीमा भारतको रोयल क्लब वेस्ट बंगाल सिलिगुढीलाई ३–२ ले हराउँदै दाउफिन्स सेमिफाइनलमा प्रवेश गरेको हो। दुहवी रंगशालामा मंगलबार भएको अन्तिम क्वार्टरफाइनलमा दाउफिन्सले सेमिफाइनलको यात्रा सुरक्षित गरेको हो। खेलको चौथो मिनेटमै क्यामरुनी टोलीले गोल गरेको थियो। उसका लागि यानीको ओबनाले अग्रता दिलाएका थिए। २६औं मिनेटमा भारतका बेनितोले गोल फर्काउँदै खेललाई बराबरीमा पु-याए। 

तर, त्यसको १० मिनेटपछि दाउफिन्स खेलमा फर्कियो। उसका लागि मेसौकीले गोल थपेर आफ्नो टोली पुनः अग्रता दिलाए। अग्रताका बावजुद दाउफिन्सलाई पहिलो हाफसम्म भारतीय टोलीले पनि चुनौती दिइरह्यो। मोफसलका अन्य खेलको तुलनामा अपेक्षाकृत प्रदर्शन गर्न नसके पनि क्यामरुनले ५८औं मिनेटमा तेस्रो गोल थप्यो। उसका लागि कोनोले गोल गर्दै खेलमा ३–१ को अग्रता दिलाए। 

यद्यपि,६३औं मिनेटमा भारतीय टोलीले क्रिसको गोलबाट खेलमा फर्किने संकेत ग-यो। खेलमा क्यामरुनकै खेलाडी मेसुको म्यान अफ दी म्याच घोषित भए। मेसुकोले नगद १० हजार रुपैयाँ प्रदान गरियो। दाउफिन्सले आगामी बिहीबार दोस्रो सेमिफाइनलमा मेची नेत्रालय काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर झापासँग प्रतिस्पर्धा गर्नेछ। दाउफिन्सले नेपालको मोफसलमा आयोजना हुने थुप्रै प्रतियोगितामा भाग लिँदै आइरहेको छ।

त्यस क्रममा दाउफिन्सले अहिलेसम्म चारवटा गोल्डकपमा उपाधि हात पारिसकेको छ। दाउफिन्सले बुढासुब्बा, तिलोत्तमा, केबलकार र माइभ्याली गोल्डकपमा उपाधि प्राप्त गरिसकेको हो । मोफसलमा भाग लिने विदेशी टोलीममध्ये दाउफिन्स सहभागी खेल हेर्न दर्शकको बढी नै जमघट हुने गर्छ।

प्रतियोगिताअन्तर्गत बुधबार पहिलो सेमिफाइनलमा त्रिभुवन आर्मी र रुस्लान थ्री स्टार क्लबबीच हुनेछ। एलेभन एरोज क्लब र मनमोहन स्मृति प्रतिष्ठानको संयुक्त आयोजनामा जारी प्रतियोगिताको विजेताले नगद ६ लाख र उपविजेताले ३ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ।