नेपालले आज म्यानमारसँग प्रतिस्पर्धा गर्दै

ओलम्पिक छनोटको दोस्रो चरणको खेलमा नेपालले आज म्यानमारसँग प्रतिस्पर्धा गर्दैछ। म्यानमारको घरेलु मैदानमा हुने खेल नेपाली समयानुसार साँझ ५ बजे शुरु हुनेछ। खेलअघि आज बिहान आयोजित पत्रकार सम्मेलनमा प्रशिक्षक हरि खड्काले म्यानमारसँग जित वा बराबरीको नतिजाको लागि खेल्ने बताए।

ओलम्पिक छनोटको पहिलो चरणको खेलमा नेपालले म्यानमारलाई १–१ को बराबरीमा रोकेको थियो। पहिलो पटक म्यानमारसँग भिडेको नेपालले खेलको शुरुआतमै सावित्रा भण्डारीको गोलमार्फत अग्रता लिए पनि त्यसलाई जोगाउन नसक्दा बराबरीमा चित्त बुझाउनुपरेको थियो। त्यसपछिका दुई खेलमा भने नेपाल म्यान्मासँग पराजित भएको थियो। फिफा बरियतामा नेपाल १०३ स्थानमा छ। म्यानमार ४४ स्थानमा छ।

नेपालले आफ्नो दोस्रो खेलमा चिरपरिचित भारतसँग यही चैत २३ गते खेल्नेछ। प्रतियोगिताको अन्तिम खेलमा नेपालले इन्डोनेसियासँग यही चैत २६ गते खेल्नेछ। म्यानमारमा गत कात्तिक अन्तिम साता भएको पहिलो चरणमा नेपालले आयोजक म्यानमार, बङ्गलादेश र भारतसँग बराबरी खेल्दै दोस्रो चरणको यात्रा तय गरेको थियो। (रासस)