यु–१९ टोलीमा चार नयाँ अनुहार

काठमाडौं–  यु–१९ एसिया कप छनोट क्रिकेट प्रतियोगिताका लागि युवा ब्याट्सम्यान रोहितकुमार पौडेलको कप्तानीमा १४ सदस्यीय टोली घोषणा हुँदा चार नयाँ अनुहारले मौका पाएका छन्।

यही चैत २७ देखि वैशाख ५ गतेसम्म मलेसियामा आयोजना हुने प्रतियोगितामा ६ देशका टोलीले सहभागिता जनाउँदै छन्। आयोजक मलेसियासहित कुवेत, ओमान, संयुक्त अरब इमिरेट्स (युएई), सिंगापुर र नेपाल सम्मिलित प्रतियोगितामा नेपालले पहिलो खेल सिंगापुरसँग खेल्दै छ भने सोही दिन आयोजक मलेसियाले युएई र कुवेतले ओमानको सामना गर्नेछन्।

हरिबहादुर चौहान, प्रतीश जिसी, अभिषेक बस्नेत र कुशल मल्लले छनोट प्रतियोगितामा पहिलो पटक सहभागिता जनाउँदै छन्।  राष्ट्रिय टोलीका पूर्वकप्तान विनोद दासको प्रशिक्षणमा रहेको नेपाली टोलीले युएईविरुद्ध चैत ३० गते दोस्रो खेल खेल्नेछ। यस्तै तेस्रो खेलमा वैशाख २ गते मलेसियाको सामना गर्दा चौथो खेल वैशाख ३ गते ओमानसँग हुनेछ। अन्तिम तथा पाँचाैं खेल कुवेतसँग वैशाख ५ गते खेल्नेछ।

यसअघि टोलीको कप्तान आसिफ शेख थिए। अब भने रोहित पौडेलले कप्तानी गर्न लागेका हुन्। मंगलबार घोषणा गरिएको टोली सन्तुलित भएको भन्दै प्रतियोगितामा सफलता हात पर्ने नयाँ कप्तान रोहितले बताए।

‘महत्वपूर्ण प्रतियोगिता भएकाले सबै खेलाडीले आफ्नो जिम्मेवारी पूर्ण रूपमा निर्वाह गर्नेछन्। र केही अनुभव बटुलिसकेका खेलाडी पनि टोलीमा छन्। कठिन अवस्थामा पनि सम्हालिएर खेल्न सक्ने खेलाडी छन्,’ कप्तान रोहितले भने, ‘नयाँ खेलाडीको संयोजनले पनि टोली राम्रो भएको छ। यही कारण टोलीको मनोबल उच्च छ। त्यसैले हामीले राम्रो गर्न सक्छौं भन्ने विश्वास छ।’

उता पहिलो पटक उमेरसमूहको राष्ट्रिय टोलीमा परेका हरिबहादुर चौहानले देशको प्रतिनिधित्व गर्दै प्रतियोगितामा  सहभागिता जनाउन पाएकोमा खुसी लागेको प्रतिक्रिया दिए।

‘देशबाट खेल्दा विकेटकिपिङको भूमिका मेरो लागि पहिलो अनुभव हुनेछ। ब्याकअप किपर पनि टोलीमा आवश्यक पर्छ। आसिफको ब्याकअपमा म रहनेछु,’ खेलाडी चौहानले भने, ‘भारतमा गएर लिएको अभ्यास र धनगढी प्रिमियर लिग (डिपिएल) मा धनगढी स्टारबाट खेलेको अनुभवले मेरो मनोबल उच्च छ।’ 
टोलीमा चार नयाँ अनुहारसहित कप्तान रोहितकुमार पौडेल, भीम सार्की, कमलसिंह ऐरी, आशिफ शेख, पवन सर्राफ, रसिद खान, रित गौतम, सागर ढकाल, सन्दीप जोरा, सूर्य तामाङ छन्। यस्तै आशिष चन्द, लोकेशबहादुर बम, रविकुमार साह र शेर मल्ल वैकल्पिक खेलाडीको सूचीमा अटाएका छन्।

विनोद दासद्वारा प्रशिक्षण गरिएको टोलीमा विक्रम न्यौपाने फिजियो छन्।