मिना सृजनशिल पुरस्कार स्मीतालाई

पोखरा ।

नेपाल पत्रकार महासंघ कास्कीद्वारा संचालित मिना सृजनशिल पत्रकारिता पुरस्कार २०७६ वाट पत्रकार स्मीता अधिकारी सम्मानीत हुने भएकी छन् । प्रतिभा छनौट समितिको सिफारिसका आधारमा नेपाल पत्रकार महासंघ कास्कीको ८४ औं वैठकले पत्रकार अधिकारीलाई उक्त पुरस्कारवाट सम्मानगर्ने निर्णय गरेको महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठले वताए ।

समाजसेवी एवं गण्डकी प्रदेशका सभासद माननीय मिना गुरुङले स्थापना गर्नुभएको उक्त पुरस्कारको राशि नगद रु २० हजार १ सय एक दोसल्ला र ताम्रपत्र रहेको महासंघ कास्कीका सचिव रामप्रसाद तिमिल्सेनाले जानकारी दिए । महिला तथा समावेसी पत्रकारहरुलाई प्रोत्साहन गर्न उक्त पुरस्कार स्थापना गरिएको हो ।

पत्रकार अधिकारीले विगत एक दसकभन्दा वढी सक्रिय रुपमा पत्रकारिता गर्दै आएकी छन् । हाल उनी द राईजिङ नेपाल दैनिकमा कार्यरत छन् । सम्मानीत हुन लागेकी पत्रकार अधिकारी महिला पत्रकारहरुको संगठन संचारीका समूह गण्डकी प्रदेसको अध्यक्ष समेत हुन् ।

पत्रकार अधिकारीलाई यही असोज १७ गते नेपाल पत्रकार महासंघ कास्कीको सभाहलमा एक समारोहका साथ उक्त पुरस्कार अर्पण गर्न लागिएको छ । गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री हरविहादुर चुमानले सम्मानपत्र, नगद र दोसल्लाले सम्मान गर्ने कार्यक्रम तय गरिएको सचिव तिमिल्सेनाले वताए ।