ज्येष्ठ नागरिक सम्मानित

पोखरा ।

अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा पोखरा महानगरपालिकाले २ ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ । २९ औं अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसमा १ सय १० वर्षीया गौरी आचार्य र १ सय ७ वर्षीय पदमबहादुर गुरुङलाई सम्मान गरेको हो ।

पोखरा ११ काँहुकी आचार्य र पोखरा ३३ का गुरुङलाई नगद १० हजार १ सय २५, फूलमाला र दोसल्ला ओढाएर महानगरका प्रमुख मानबहादुर जिसी र उपप्रमुख मञ्जुदेवी गुरुङले सम्मान गरेका हुन् । महानगरले प्रत्येक वर्ष ज्येष्ठ नागरिक मध्ये २ जनालाई सम्मान गर्दै आएको छ । महानगरले उनीहरुलाई नगर पिता र नगर आमाको रुपमा सम्मान गरेको हो ।

कार्यक्रममा बोल्दै महानगरका प्रमुख जिसीले सम्मानले सकारात्मक सोचको विकास गराउने बताए । उनले ज्येष्ठ नागरिकको मनमा चोट पुग्ने काम कसैले पनि गर्न नहुने र उनीहरुलई सम्मानपूर्वक बाच्ने वातावरण मिलाउनु पर्ने बताए । उहाँले जेष्ठ नागरिकको लागि ज्येष्ठ नागरिक क्लब निर्माण गर्ने सोच महानगरपालिकाले बनाएको बताए ।

कार्यक्रममा उपप्रमुख गुरुङले ज्येष्ठ नागरिक स्वास्थ्यलाई ध्यानमा राखेर महानगरले घुम्ती स्वास्थ्य शिविर सञ्चालन गरेको बताइन् । उनले जनप्रतिनिधि आइसकेपछि जेष्ठ नागरिकहरुले पाउने भत्तामा १० प्रतिशत थपेर महानगर भित्रका सबै ज्येष्ठ नागरिकलाई भत्ता दिइएको जानकारी दिइन् ।

पोखरा महानगरपालिका वडा नम्बर ११ वडाध्यक्ष शंकरप्रसाद बास्तोला, निर्मलपोखरी ज्येष्ठ नागरिक समितिका अध्यक्ष भुपेन्द्र गिरी, सामाजिक विकास महाशाखाका प्रमुख निर्मला शर्मा र महाशाखाका विष्णुमाया पौडेल लगायतले ज्येष्ठ नागरिकको बारेमा बोलेका थिए ।