पोखरामा अन्तर्रा्ष्ट्रिय क्रस कन्ट्री दौड हुने

पोखरा ।

पोखरालाई साहसिक पर्यटनको गन्तव्य बनाउने उद्देश्य सहित चीनिया पर्यटक नेपाल भित्राउन पो खरा अन्तराष्ट्रिय पर्वतीय क्रस कन्ट्री रेस हुने भएको छ । पोखरा उद्योग वाणिज्य संघ, पश्चिमाञ्चल होटल संघ पोखरा र माउण्टेनरिङ्ग एक्सप्लोरेसन एशोसियन कुनमिङ चीनको आयोजनामा, पोखरा र कुनमिङ महानगरपालिकाको संरक्षकत्व ४२.२ किलोमिटर दौड हुन लागेको हो ।

२२ किलोमिटर दौड, १९ किलोमिटर साईक्लिङ र १.२ किलोमिटर बोटिङ (डुंगा) पुरा गर्नुपर्ने मंगलबार आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिताका संयोजक एवं पोखरा उद्योग वाणिज्य संघका पुर्वअध्यक्ष विश्वशंकर पालिखेले जानकारी दिए ।

क्रस कन्ट्रीमा ४२ किलोमिटरको दूरीमा दौड, साइक्लिङ र बोटिङ (डुंगा) समावेश गरिएको छ । एउटा समूहमा ३ जना सहभागि हुने प्रावधान छ । माउन्टेनरिङ एसोसियनका विज्ञहरुले झण्डै दुई वर्षको अध्ययनपछि पोखरामा क्रस कन्ट्री दौड आयोजना गर्ने निर्णय गरेपछि असोज २९ गते पोखरामा अन्तराष्ट्रिय पर्वतीय क्रसकन्ट्री रेस गरिने मिति तय गरिएको संयोजक पालिखेले बताए । रेसमा नेपाल र चीनियाँ गरी ९० जना (३० टिम) को सहभागिता रहने बताए ।

पोखराको बाराही घाटबाट दौड शुरु हुने छ । दौड ड्यामसाईड हुदैं तिब्बतियन क्याम्प हुदैं फुस्रे खोलामा पुगेपछि साईक्लिङ शुरु हुन्छ । साईक्लिङ त्यहाँबाट केमेरे, राम्दी, मट्टीखान रिर्सोटहुदैं रामकोटमा पुग्ने छ । त्यसपछि उल्लेरी, खरिखानी, भयरथान, पैयु चौतारी, भुम्दी, कालाबाङ, स्वाँरा, लुकुनस्वाँरा, लिचिबोट हुदैं लिचिबोटबाट डुंगामा लिएर स्वीमिङपुल घाटमा आईपुग्ने छन् । स्वीमिङपुल घाटबाट पुन दौडेर बाराही घाट आएपछि दौड पुरा हुने छ । प्रतियोगिताको नारा पनि नारा नै ‘रन फर लभ’ राखिएको छ ।

पोखरा उद्योग वाणिज्य संघका उद्योगतर्फका उपाध्यक्ष गोकर्ण कार्कीले पोखराको पर्यटन प्रवद्र्धनको लागि यो प्रतियोगितालाई निरन्तरता दिनुपर्नेमा जोड दिए । गण्डकी प्रदेशका आर्थिक विकास समितिका सभापति दिपक कोइरालाले पोखराको पर्यटन प्रवद्र्धनमा क्रसकन्ट्री रेसले नयाँ आयाम थपिने विश्वास व्यक्त गरे ।

प्रतियोगिताका विजेता नेपाली समूह (प्रथम, द्धितीय र तृतीय हुने टोली) लाई कुनमिङमा आयोजना हुने १०० किलोमिटरको क्रसकन्ट्री रेसमा सहभागिता जनाउन पाउने छन् । नेपालमा एक वर्षमा ५४ हजार चीनिया पर्यटक आगमन भईसकेको तथ्यांक छ । फ्रि भिसाले चीनिया पर्यटकका आकर्षण बढिरहँदा पोखरामा पनि उल्लेख्य आगमन देखिएको छ । साहसिक खेल पर्यटनको लागि चीनियाँ पर्यटक पोखरा आउने गरेका छन् ।