पौडेल बंश महासंघद्धारा शुभकामना आदानप्रदान

पोखरा ।

पौडेल बंश महासंघ गण्डकी प्रदेश समितिद्वारा विजया दशमी, दिपावली तथा छठका अवसरमा आज यहाँ शुभकामना आदान प्रदान एवम् चियापान कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रममा गण्डकी प्रदेश अन्तरर्गतका जिल्लाका समितिका संयोजक एवम् विभिन्न जिल्लाका पदाधिकारी, संघ संस्थामा आबद्ध पौडेल बन्धुहरूको सहभागिता थियो ।

कार्यक्रमका प्रमुख अतिथि एवम् गण्डकी प्रदेशका नीति तथा योजना आयोगका उपाध्यक्ष गिरीधारी शर्मा पौडेलले नेपालीका महान चाड दशैं, तिहार तथा छठ लगायतका पर्वले सबैमा सुख शान्ति तथा समृद्धि ल्याउने विश्वास व्यक्त गरे । उनले समृद्धिका लागि उत्पादनसँग जोडिनुको विकल्प नभएको बताउँदै समयको गतिसँगै प्रविधिले फड्को मारिसकेका अवस्थामा प्रत्येकले समय सापेक्ष आफ्नो सामथ्र्य देखाउन सक्नुपर्ने धारणा राखे ।
तथ्याङक अनुसार नेपालमा पौडेलहरूको संख्या झण्डै २६ लाख रहेको बताउँदै उनले त्यस मध्ये १६ लाख नेपालमा नै र १० लाख भारत सहित विभिन्न मुलुकमा रहेको जानकारी दिए । उत्पादन मार्फत रोजगारी सिर्जना गर्ने गरी पौडेलहरूलाई लाग्न सुझाव दिदै उनले प्रत्येकले आफ्ना सन्तानलाई उत्कृष्ट शिक्षा दिदै ज्ञानको नेतृत्व गराउने तर्फ लाग्न आग्रह गरे ।

पौडेल बंश महासंघका केन्द्रीय बरिष्ठ उपाध्यक्ष हरिराम पौडेलले आपसी भाइचारा अभिबृद्धि गर्दै सम्पन्नले बिपन्नलाई सहयोग गर्ने किसिमको वातावरण तयार गर्नुपर्ने आवश्यकता औंल्याए । महासंघले देशभर छरिएको पौडेलको बंशावली तयार गर्न लागेको जानकारी दिदै उनले प्रत्येक गाउँ र टोलमा रहेका पौडेलको अभिलेख नछुट्ने गरी अद्यावधिक गराउन सबैले आ आफ्ना स्थानबाट सहयोग गर्नुपर्ने बताए ।

महासंघले पौडेल बंशमा रही राष्ट्रमा महत्वपूर्ण योगदान गर्ने प्रतिभाको विवरण समेट्दै पुस्तक समेत प्रकाशन गर्ने तयारी गरिएको उनले जानकारी दिए । केन्द्रीय पौडेल बंशावली निर्माण समितिका संयोजक प्रा.डा.यमबहादुर पौडेलले इतिहास तथा योगदानलाई आत्मसात गर्दै अघि बढ्नुपर्ने धारणा राखे ।

पौडेल बंश महासंघ गण्डकी प्रदेश संयोजक एवम् केन्द्रीय उपाध्यक्ष भरतराज शर्मा पौडेलको सभापतित्व एवम् बरेली पौडेल बंश कुलपूजा व्यवस्थापन समितिका अध्यक्ष राजुप्रसाद पौडेलले सञ्चालन गरेको कार्यक्रममा संविधानसभा सदस्य शारदा पौडेल, आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव किरणराज शर्मा पौडेल लगायतले आपसी भाइचारा अभिबृद्धि गर्दै सम्पूर्ण पौडेल एकताबद्ध बन्नुपर्नेमा जोड दिए ।